काठमाडौं । काठमाडौं महानगरपालिका–६, चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा एक अपांगता भएकी एक महिलाको ज्यान गएको छ ।
बिहीबार अपराह्न हरिप्रसाद गौतमको साढे तीनतले घरको भुइँतलाको एक कोठामा डेरामा बस्ने काभ्रेको चौरीदेउराली गाउँपालिका–३ की ६५ वर्षीया उर्मिला तामाङको निधन भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार, आगलागी भएका बेला तामाङ सुतिरहेकी थिइन् । उनको बायाँ खुट्टा नभएकाले कोठाबाट निस्किन नसकेर जलेर मृत्यु भएको हो ।
आगलागीबाट कोठाको झ्याल, ढोका, लत्ता कपडा पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीको कारण भने अझै नखुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थल काठमाडौं बौद्ध प्रहरी वृत्तबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

कोठामा आगलागी भएको खबर पाएपछि प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षक जयश्वकर रिमालको कमान्डमा टोली खटिएको थियो । स्थानीयको सहयोगमा आगोलाई पूर्णरूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।










