काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. १० रेशम मार्गस्थित भवानी पाण्डेको घरको कम्पाउण्डमा रहेको बुद्धचित्त माला चोरी गरेको आरोपमा तीन जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । गत असार २१ गते राती साढे १ बजे पाण्डेको कम्पाउण्डमा प्रवेश गरी बद्धचित्त माला चोरी भएको थियो ।
उनीहरुले माला चोरी गरी जुत्ता छोडेर भागेका थिए । जुत्ता र घटनास्थलको सिसिटिभी फुटेजको आधारमा बनेपा नगरपालिका वडा नं. ८ बाट पक्राउ गरेको प्रहरीले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार माला चोरीको आरोपमा महाभारत गाउँपालिका वडा नं. ४ का १९ वर्षीय विवेक लामा, सोही स्थानका २० वर्षीय मिलन मोक्तान र महाभारत गाउँपालिका वडा नं. ३ का लबाङ तामाङ पक्राउ परेका छन् ।


उनीहरु तीनै जनालाई चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्धा दायर भई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ४ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए ।











