मकवानपुर । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामाले सुन तस्करीमा आफ्नो संलग्नता नरहेको बताएका छन् । प्रदेशसभाको आइतबार बसेको बैठकमा बोल्दै मन्त्री लामाले केही व्यक्तिहरूले आधारहीन आरोप लगाएर आफूलाई बदनाम गराउन लागि परेको बताएका हुन् ।
सुन तस्करीमा अनुसन्धान गरिरहेको निकायले समेत सार्वजनिक रूपमा नै आफ्नो संलग्नता नरहेको प्रस्ट पारिसकेको उनले बताए । आफ्नै पार्टी र भूगोलका केही व्यक्तिहरूले तथ्यहीन तवरबाट सामाजिक सञ्जालको दुरुपयोग गरी आफू माथि मानमर्दन गर्ने काम गरेको उनको भनाई छ ।


‘सुन तस्करीमा मेरो संलग्नता छैन । मैले विज्ञप्ति मार्फत पनि त्यसको खण्डन गरिसकेको छु । अनुसन्धान गर्ने निकायले समेत सार्वजनिक रूपमा भनेको कुरा हो ।’ उनले भने, ‘मेरै पार्टीका केही व्यक्ति र पत्रकारिताको नर्म्स समेतको ख्याल नगर्ने एकाध पत्रकारहरूले आधारहीन रूपमा आरोप लगाएका हुन् । उनीहरूको आधारको मापन तपाई आफै पनि बुझ्न सक्नु हुन्छ ।’
सुन तस्करीमा पक्राउ परेका काभ्रेका ३ जना व्यक्तिहरूसँग आफ्नो कुनै संलग्नता नरहेको उनको भनाई छ । पक्राउ परेका व्यक्तिहरूलाई आफूले नचिनेको मन्त्री लामाले बताए । सुन तस्करीमा संलग्नता पुष्टि भए जस्तो सुकै मूल्य चुकाउन आफू तयार रहेको मन्त्री लामाको भनाई छ ।
‘सुन तस्करीमा पक्राउ परेका काभ्रेका व्यक्तिहरू म चिन्दिन । कांग्रेस काभ्रेमा २० हजार क्रियाशील सदस्य छन् । को कस्तो छ मलाई थाहा हुने कुरा होइन । उनीहरूलाई मैले चिनेको पनि छैन । तस्करहरूसँग मेरो संलग्नताको कुनै प्रमाण पनि भेटिएको छैन । प्रमाण भेटिए कानुन अनुसार भोग्न तयार छु । गैरकानुनी काममा संलग्न भएको प्रमाण फेला परे आजीवन राजनीतिमा फर्किन्न । काभ्रेमा फर्किन्न ।’ मन्त्री लामाले भने ।
आफू २०४३ सालबाट राजनीति र समाज सेवामा क्रियाशील रहेको र हालसम्म कुनै पनि गलत क्रियाकलापमा संलग्न नभएको उनले बताए । काभ्रेका नागरिकको विश्वास गलत क्रियाकलाप नगरेकै कारण २०७० मा आफू संविधानसभा सदस्य र २०७९ मा प्रदेशसभा सदस्य हुँदै हाल मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको उनले बताए ।










