काठमाडौँ । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङद्वारा लिखित ‘तथ्याङ्क र आदिवासी जनजाति’ नामक पुस्तक बजारमा आएको छ ।

आदिवासी जनजातिको जाति, भाषा र धर्मको विषयलाई उठाएर तथ्याङ्क सहित सबैले बुझ्ने गरी सरल भाषामा व्याख्या, विश्लेषण र टिप्पणी गरिएको छ । ताम्सालिङ नलेज सेन्टरद्वारा प्रकाशित पुस्तकको बजार साधारण मूल्य ७२५ र संस्थागत मूल्य १००० रुपैयाँ तोकिएको छ ।

लेखक : मोहन गोले तामाङ
२०८० सालको हिन्दू पर्व दशैं र तिहारको लामो बिदा । काठमाडौं छाडेर गाउँ जाँदै गर्दा यहाँ मौकामा घरमा बसेर केही लेख्ने योजना बुनेँ । सुरुमा यसअघि प्रकाशित पुस्तक ’जातिवादको शल्यक्रिया’ को दोस्रो संस्करण तयारी गर्ने सोचमा थिएँ । केही लेख्दै पनि गएँ तर यसमा २०७८ को पछिल्लो जनगणना प्रतिवेदनमा भएको आदिवासी जनजातिसम्बन्धी तथ्याङ्कलाई पनि समेट्दा राम्रो हुन्छ भन्ने लाग्यो । आदिवासी जनजातिका जात, जाति र भाषाभाषीको तथ्याङ्क टिप्दै गएँ । टिप्दै जाँदा जात, जाति र भाषाभाषीको केही परिचय पनि राखौ भन्ने भयो र विभिन्न पुस्तकबाट प्राप्त जाति र भाषासँग सम्बन्धित विषयहरू पनि थप्दै गइयो । केही जातीय संस्थाको अध्यक्षहरूसँग फोनमा कुराकानी गरेर पनि केही सूचना लिने काम गरेँ । लेख्दै जाँदा ठूलै आकारको बन्ने भएपछि यसको छुट्टै पुस्तक प्रकाशन गर्ने निष्कर्षमा पुगेँ । जसको परिणाम आज तपाईहरूको हातमा यो पुस्तक आइपुगेको छ – तथ्याङ्क र आदिवासी जनजाति ।

आदिवासी जनजाति संघ, संगठनहरूले २०५८ पछिका दिनमा तथ्याङ्क प्रकाशन हुनासाथ निरन्तर विरोध जनाइरहेका छन् । किनकि तथ्याङ्क देशको ऐना हो । एकपटक देखाइएको ऐनामा राज्यले १० वर्ष काम गर्छ । यहीँ ऐनाको आधारमा समग्र देशको योजना बन्छ । ऐनामा अनुहार देखिएन भने उसको लागि योजना बन्दैन । जब ऐनामा आदिवासी जनजातिको आफ्नो अनुहार दुरुस्त देखिँदैन । त्यसबेला गलत ऐना देखाउने निकायको विरोध गर्नु कुनै अनौठो होइन । आदिवासी जनजातिहरू कहिले धार्मिक तथ्याङ्कप्रति असहमति राख्दै आएका छन् त कहिले जातीय जनसङ्ख्यामा असहमति राख्दै आएका छन् । तर त्यसलाई सच्याउने विषयमा न राज्य पक्षले ध्यान दिन्छ न आदिवासी संगठनहरूले नै गम्भीर भएर तथ्याङ्कमाथि विमर्श नै गरेको छ । केही दिनपछि आदिवासी जनजातिका आन्दोलन सेलाएर जाने गरेको छ । आदिवासी जनजातिको जनसङ्ख्या, भाषा र धर्मसम्बन्धी तथ्याङ्क सही आउन नसक्नुमा तथ्याङ्क कार्यालयको कमजोरी एउटा पक्ष होला । तर सम्बन्धित सामुदायिक संस्थाले पनि गम्भीरताका साथ यसमा छलफल नगर्नु अर्को कमजोरी हो । यस पुस्तकमा १० वर्षअघि (२०६८) को जनगणना तथ्याङ्क र १० वर्षपछि (२०७८) को तथ्याङ्कलाई तुलना गरी थपघट जात, जाति र मातृभाषाको सङ्ख्या समेत राखिएको छ । त्यसो हुँदा यो पुस्तकले आगामी जनगणना तथ्याङ्क विश्वसनीय र भरपर्दो बनाउन तथ्याङ्क कार्यालय र सम्बन्धित समुदायलाई सहयोग पुरÞ्याउने विश्वास लिएको छु ।

अर्को, अहिले मुलुकमा पहिचानको बहस घनिभूत ढंगले चलिरहेको छ। मुलुक एकात्मक, केन्द्रीकृत ढाँचाबाट सङ्घीय प्रणालीमा गएपनि सत्ताधारी दलको अकर्मण्यता र एकल जातीय चिन्तनको कारण मुलुक पहिचानसहितको सङ्घीयतामा जान सकेन । प्रदेशहरूको नाम पहिचानविहीन पञ्चायती नाम नै राखियो । मुलुकको मुख्य आन्तरिक द्वन्द्वको कारण यहीँ हो । यो द्वन्द्वलाई कायम राखेर कुनै अमुक नेताको रटानमा मुलुकलाई समृद्धिको दिशातर्फ अगाडि बढाउन सकिन्न । पहिचान बहसको मूख्य आधार निश्चित थलोमा बस्दै आएको जातिहरूको ऐतिहासिकता, त्यस भूगोलको साझा संस्कृति र साझा भाषा हो । जुन विषयसँग जनसङ्ख्या जोडिएर आउने गर्दछ । यसर्थ, जनसङ्ख्या राजनीतिक शक्ति हो र आजको समसामयिक बहसको मुख्य आधार पनि हो ।यस्तो महत्त्वपूर्ण विषयमा आदिवासी जनजाति अभियन्ताहरू जानकार हुनैपर्छ। यसकारणले पनि आदिवासी जनजाति अभियन्ताहरूका लागि यो पुस्तक महत्त्वपूर्ण हुनेछ ।

अर्को, राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गर्ने जनगणनासम्बन्धी अति आवश्यकीय प्रतिवेदन सबैको हातहातमा पुग्न सम्भव छैन । जनगणनासम्बन्धी यस्ता पुस्तक राज्यको संयन्त्रहरू र मुश्किलले सीमित गैरसरकारी संस्थासम्मलाई मात्रै प्राप्त हुने अवस्था छ। मैले पनि धेरैपटक तथ्याङ्क कार्यालय धाएपछि दुईथान पुस्तक प्राप्त गरेँ । विभागको वेभसाइटमा तथ्याङ्कको प्रतिवेदन त राखिएको हुन्छ तर पुस्तक पाउन पनि कठिन र आफूले खोजे जस्तो सूचना लिन पनि झन्झटिलो हुने अवस्थालाई यो पुस्तकले सहजता ल्याउने अपेक्षा गरेको छु। खासमा यो पुस्तक लेखनभन्दा पनि सङ्कलन मात्र हो। तथ्याङ्क र आदिवासी जनजातिको जात, जाति र भाषासम्बन्धी आवश्यक सूचना खोज्दा यो पुस्तकले त्यसको परिपूर्ति गर्छ भन्ने मेरो विश्वास छ। हो, राष्ट्रिय तथ्याङ्क कार्यालयको जनगणना प्रतिवेदनमा आदिवासी जनजातिको जात, जाति, भाषा र धर्मको सही तथ्याङ्क आएको छैन । यसमा थुप्रै कमजोरी छन् तरपनि जे जस्तो रूपमा आएको भएपनि यसलाई मान्नैपर्ने बाध्यता छ। किनकि राज्यले निकालेको तथ्याङ्क नै आधिकारिक मानिन्छ ।

तथ्याङ्क र आदिवासी जनजाति पुस्तकले आगामी जनगणनामा तथ्याङ्क कार्यालय र सम्बन्धित समुदायलाई समेत कमजोरी सच्याउन सहयोग पुग्नेछ । अभियन्ताहरूले हरेक कार्यक्रममा बोल्दा, लेख्दा तथ्यमा टेकेर बोल्न यसले सहयोग पुरÞ्याउनेछ । तथापी यस पुस्तकमा पनि कमिकमजोरी नहोलान् भन्न सकिन्न । राष्ट्रिय तथ्याङ्क कार्यालय जस्तो राज्यको साधन÷स्रोत सम्पन्न निकायले त कमजोरी गर्छ भने एउटा अभियन्ताको सङ्कलनमा अझ कमजोरी हुन सक्छन् । तर यसको उद्देश्यमा गडबडी छैन । त्यसैले यसमा भएको कमजोरीप्रति पाठक समक्ष क्षमा माग्दै यसलाई आगामी संस्करणमा सच्याउने प्रतिबद्धता व्यक्त गर्दछु ।

अन्तमा, आदिवासी जनजाति अभियन्ता हुनुको नाताले पुस्तक आफू र आफूजस्तै अभियन्ताको लागि अति आवश्यकीय ठानेर तयार गरियो । बाध्यताको बीचबाट यो पुस्तक तयार भएको हो । अमेरिकी लेखक टोनी मरिसनले भनेका थिए– ’आफूले पढ्न खोजेको जस्तो कसैले लेखेको पाएनौ भने आफै लेख्न थाल’ । वास्तवमा यो पुस्तक पनि अरु कसैले नलेखेपछि जबर्जस्त आफैले लेख्न थालेको मात्रै हो । पुस्तक प्रकाशन योग्य बनाउने प्रक्रियामा विशेष सहयोग गर्नुहुने त्रि.वि. का उपप्राध्यापक डा. तारामणि राई, विभिन्न पुस्तक उपलब्ध गराएर सहयोग पुरÞ्याउनु हुने आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगर, भाषा आयोगका उपसचिव डा. लोक बहादुर लोप्चन, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, पुस्तक प्रकाशनका लागि निरन्तर अभिप्रेरित गरिरहने आदिवासी जनजाति अभियन्ता सन्जोग लाफा मगर र पत्रकार राजु स्याङ्तानलाई धन्यवाद नदिइरहन सक्दिनँ । त्यसैगरी आर्थिक सहयोग गर्नुहुने डा. गणेश योन्जन, दीलमान पाख्रिन, बाबुराम लोप्चनलाई धन्यवाद दिन चाहन्छु । उहाँहरूको सहयोग र प्रेरणा नपाएको भए यो पुस्तक प्रकाशनको सपना अधूरो रहन पनि सक्थ्यो । पुस्तकलाई बजारसम्म ल्याउनका लागि प्रकाशन जस्तो महत्त्वपूर्ण कार्यको जिम्मेवारी लिने ताम्सालिङ नलेज सेन्टर र यसका प्रवन्ध निर्देशक दावादोर्जे लामालाई विशेष धन्यवाद ज्ञापन गर्दछु ।

मोहन गोले तामाङको हाल सम्म घाइतेको सन्देश (कविता काव्य), भाले बासेन ( कविता सङ्ग्रह), आदिवासी जनजाति उत्पीडन र मुक्तिको सवाल, सङ्घीयतामा पहिचान, तामाङ समाजको मौलिक संस्कृति, तथ्याङ्कमा आदिवासी जनजाति, जातिवादको शल्यक्रिया र तथ्याङ्क र आदिवासी जनजाति मुख्य कृतिहरु प्रकाशित भइसकेको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय