काभ्रे । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा काभ्रेको १३ वटा स्थानीय तहहरु मध्ये रोशी गाउँपालिका काभ्रे जिल्लाभरिका स्थानीय मध्ये उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार रोशी गाउँपालिका जिल्लाकै पहिलो बनेको हो ।
जिल्लामा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन्, जसमध्ये पनौती नगरपालिका कमजोर देखिएको छ । पाएको अंक हेर्दा रोशी गाउँपालिका सबैभन्दा अगाडि र पनौती नगरपालिका सबैभन्दा पछाडि छन् ।
काभ्रेको स्थानीय तहहरुमा रोशी गाउँपालिका ४८.३९ अंकसहित पहिलो भएको छ भने पाँचखाल नगरपलिका ४१.७६ अंकसहित दोस्रो भएको छ । चौरीदेउराली गाउँपालिकाले ३९.५८, धुलिखेल नगरपालिकाले ३७.५३, बनेपा नगरपालिकाले ३७.५, महाभारत गाउँपालिकाले ३४.२२, तेमाल गाउँपालिकाले २८.२४, नमोबुद्ध नगरपालिकाले २८.००, खानीखोला गाउँपालिकाले २६.३४, बेथानचोक गाउँपालिकाले २५.४४, मण्डनदेउपुर नगरपालिकाले २२.२८, भूम्लु गाउँपालिकाले १९.५० र पनौती नगरपालिकाले १८.८२ अंक प्राप्त गरेका छन् ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।
त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।
आर्थिक बर्ष २०७७/७८ को स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनमा समग्र स्थानीय तहमध्ये पनि पहिलो स्थानमा परेको महाभारत गाउँपालिका यस पटक भने जिल्लाको छैठौं भएको छ ।