काठमाडौं । दुवै मृगौला फेल भएसँगै उपचारको लागि सहयोगको याचना गरेका काभ्रेको डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका–१ स्थित छोटेसहान निवासी २१ वर्षीय रमित थिङलाई इन्द्रेणी समाजले आर्थिक सहयोग गरेको छ । मृगौला पीडित थिङलाई टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’ का अध्यक्ष कृष्ण कँडेलले ३५ हजार आर्थिक सहयोग गरेको हो ।
चर्चित हास्य कलाकार सुबोध गौतमले बुधबार उक्त रकम पीडित थिङलाई अस्पतालमै पुगेर हस्तान्तरण गरेका छन् ।
पछिल्लो समयमा इन्द्रेणी समाजले मृगौला, क्यान्सर, वोनम्यारो, दृष्टिबिहिन, अपाङ्ग, विदेशमा फाँसीको सजाय पाएका लगायतका रोगी र कैयौं आर्थिक अभावको पीडाले छटपटाई रहेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् । आम नेपालीले रुचाएको चर्चित कार्यक्रम ‘इन्द्रेणी’लाई मानिसले सेवाको मन्दिरको रुपमा लिइएको पाइन्छ ।
दु:ख पाएकादेखि उपचार समेत गर्न नसकेका धेरै दु:खी अनि पीडितहरु ‘इन्द्रेणी’मा गएर सहयोगको लागि आह्वान गरेको देख्न सकिन्छ । पीडित थिङलाई पनि इन्देणी कार्यक्रमबाटै सहयोगको आह्वान गर्ने हास्य कलाकार गौतमले बताए ।
आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि आर्थिक जुटाउनको लागि ग्लोबल खबर र विभिन्न व्यक्तिहरुको पहलमा सहयोग अभियान संचालन गरेको थियो । यस अन्तर्गत केही सहयोग प्राप्त भएर पीडितलाई हस्तान्तरण गरिसकेका छन् भने अझै सहयोग आउने क्रम जारी रहेको छ ।
मृगौला पीडित थिङका दिदी प्रगति थिङको अनुसार थिङलाई विगत केहि हप्ता देखि दुवै मिर्गौला फेल भई काठमाडौस्थित टिचिङ अस्पताल महाराजगंजमा उपचार तथा डायलासिस गराइरहेको छ ।
युवा नेता तथा समाजसेवी गोविन्द स्याङतानले मृगौला प्रत्यारोपणका लागि २० देखि २५ लाख चाहिने भए पनि आर्थिक समस्याको कारण प्रत्यारोपण गर्न नसकिएको बताए ।
त्यस्तै युवा नेता तथा समाजसेवी अमृत लामाले अहिले ‘रमित थिङ बचाउ अभियान’ देश विदेशमा संचालन भइरहेको जानकारी दिए ।
दुबै मृगौला पीडित थिङलाई सहयोग गर्न चाहानु हुनेले बिरामीको दाइ भिम बहादुर थिङ ९७४०७११६७३ समाजसेवीहरु गोविन्द स्याङतान ९८४१८४०३४५ र अमृत लामा ९८४१५०२८९७ लाई फोन गरेर विरामीलाई सहयोग तथा स्वास्थ्य अवस्था बारे बुझ्न सक्नु हुनेछ । साथै बिरामीको दिदि प्रगति थिङको प्रभु बैंकको खाता नम्बर ०३८०१९९४४१८०००१२ पनि सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ ।