काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ साल फागुन १ गते देखि बहुदलीय संसदीय राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र गणतन्त्र स्थापनाको लक्ष्यसहित जनयुद्ध सुरु भएको थियो ।मुलुकमा जनयुद्धको लहर र त्रास दुवै। यही बेला काभ्रेको डाँडापारी महाभारत गाउँपालिका ६ बनखुका भक्त बहादुर राना मगर ज्यानको बाजी लगाउँदै सशस्त्र युद्धमा होमिए, जनताको जनजीविका, न्याय र समृद्धि ल्याउने कबुलसहित।
यस क्रममा धेरै ठाउँमा तत्कालीन नेकपा माओवादीको योद्धा बनेर आक्रमणमा उत्रिए। बागमती गाउँपालिका–४ (साविकको फापरबारी–१) झुरझुरेमा २०६२ माघ ८ को साँझ ६ बजेदेखि तत्कालीन शाही नेपाली सेना र विद्रोही माओवादीबीच भिडन्त सुरु भएको थियो ।
झन्डै १२ घण्टासम्म चलेको भिडन्तमा ३ सर्वसाधारणसहित ३९ जनाको मृत्यु भएको थियो । ५० जनाभन्दा बढी घाइते भएका थिए, सो भिडन्तमा मगर पनि घाइते भएको थियो । घाइते पछि उनलाई सहयोद्धा साथी र जनसेनाको प्राथमिक उपचार टोलीले सामान्य उपचार गर्यो।
टाउकोमा गोलीका छर्रा भएको मगरले विभिन्न अस्पतालमा उपचार गराए । उपचारपश्चात दुखाइ र हिँडाइमा केही सहज त भयो तर टाउकोमा रहेको गोली छर्रा भने निकालिएन।बाहिरी अंगको चोट ठिक भएपनि शरिरमा रहेका गोलीका छर्राले उनलाई सधै दुख दिइरह्यो ।
उक्त गोलीका छर्राको कारणले विगत ५ बर्ष पहिला देखि नै उनी बोल्न सक्ने अवस्थामा छैन । त्यसैको असर विस्तारै शरिरमा हुदै गए पछि हाल उनको दुईवटै खुट्टाको अपरेसन गरि वीर हस्पिटलमा उपचार भइरहेको छ ।
जनयुद्धमा घाइते भए पनि राज्यले द्वन्द्वपीडितलाई प्रदान गर्ने कुनै पनि सेवा, सुविधा र राहतबाट उनी वञ्चित छन्।गाउँपालिकाबाट अपंग भत्ता स्वरुप मासिक ४ हजार दिने गरेको उनका श्रीमती वर्षा रानाले ग्लोबल खबरलाई बताइन् ।
मगर जस्तै जनयुद्धको घाइतेहरु क र ख वर्गमा पारेर मासिक रु नौदेखि १८ हजार सम्म जीवन निर्वाह भत्ता खाइरहेको छ तर मगरलाई जिल्लाबाट सिफारिस भए पनि गृह मन्त्रालयले नाम छुट्टयाइएको रानाले बताइन् ।
‘हुँदै नभएका घाइते, दण्डपीडितले विभिन्न नाम र बहानामा राहत सेवा सुविधा लिएको पाइयो’, उनले थपिन, ‘तर मेरो श्रीमानले उपचार खर्चसमेत पाएको छैन, माओवादीको सरकार हुने बेला केही प्रक्रिया अघि बढाए पनि त्यो कहाँ पुगेर रोकिएको भन्ने बारेमा म बेखबर छु।’
“बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल अस्पतालमा आएर उपचारमा केही पहल गर्छु भनेपछि लामो समयपछि हाम्रो समस्या बुझ्न खोजिँदा भने निकै खुसी लागेर आएको छ”, रानाले भनिन्, “पार्टीले हाम्रो योगदानलाई बुझेर अब व्यवस्थापन गर्दैछ कि भन्ने केही आशासमेत पलाएको छ ।”
अहिले मगर न बोल्न सकिन्छ न केही गर्न हस्पिटलमा मृत्यु संग लडिरहेको छ । उनको एक सन्तान पनि छ । सरकारले उपचार खर्चको व्यवस्था गरिदिए म केही गरेर खाना सक्छु रानाले भनिन् पार्टीले पनि जनयुद्ध कै कारण घाइते भएकोले केही गरि दिन्छ कि भन्ने आशा रहेको छ ।
सुरुआतमा ५ पास गरेका उनले तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि फेरि पढाइ सुरु गरेर ८ पास गरेका छन्। शान्ति सम्झौता पछि उनी चितावनमा रहेको माओवादी क्याम्पमा बसेर अवकाश लिएको थियो ।