विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज (बिहीबार) राजीनामा दिँदै छन्। मुलुकको ठूलो दल एमाले विभाजन भएसँगै सरकारको नेतृत्व पूरा कार्यकाल गर्न नपाइकन मुख्यमन्त्रीले राजीनामा दिने परिस्थिति बनेको हो।

एमाले विभाजनले आधिकारिकता पाएकाले राईले राजीनामा दिने तयारी गरेको स्रोतले बतायो। बिहान ११ बजेका लागि एमाले संसदीय दलको बैठक पनि बोलाइएको मुख्यमन्त्री राईनिकट स्रोतले बतायो। नेताहरुका अनुसार संसदीय दलको नेता परिवर्तन गर्नका लागि दलको बैठक बोलाइएको हो।

नयाँ मुख्यमन्त्री चयनका लागि संसदीय दलको नेता छनोट गर्ने बैठकको कार्यसूची रहेको बताइएको छ। मुख्यमन्त्रीबाट राजीनामा दिएर राईले एमाले सचिव भीम आचार्यलाई नयाँ मुख्यमन्त्री बन्ने बाटो खुला गरिदिन लागेको स्रोतले बतायो। स्रोतका अनुसार आफूले राजीनामा दिएपछि राईले दलको बैठकमै आचार्यलाई संसदीय दलको नेता प्रस्ताव गर्नेछन्।
बैठकले टुंगो लगाएपछि संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिने छ। त्यसअघि नै राईले प्रदेश प्रमुखलाई आफ्नो राजीनामा बुझाउने बताइएको छ। एमाले सांसद तुलसीप्रसाद न्यौपानेले दलको बैठक बोलाइएको भए पनि राजीनामाको विषय थाहा नभएको बताए।

‘दलको बैठक भनेर बोलाइएको छ। म पनि बैठकमा जाँदैछु’, उनले भने, ‘के निर्णय हुन्छभन्ने बैठकपछि नै थाहा होला। तर मुख्यमन्त्रीको राजीनामाको विषय मलाई थाहा भएन।’ बैठकले एमालेबाट अलग भएका माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी)तिर लागेका सांसदलाई कारबाही गर्न सक्ने सम्भावना रहेको बताइएको छ।

‘मुख्यमन्त्री शेरधन राईले दलको नेताबाट राजीनामा दिनेछन्। त्यसपछि भीम आचार्यलाई संसदीय दलको नेता चयन गरिने छ’, एमालेका एक सांसदले भने, ‘दलको नेता चयन भएपछि आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सक्षम सिफारिस गरिने छ। अवस्था सहज बन्यो भने आजै आचार्यलाई मुख्यमन्त्रीको शपथ गराउने तयारी छ।’

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री एवं एमाले नेता हिक्मतकुमार कार्कीले पार्टी विभाजन र समसामयिक विषयमा छलफल गर्न दलको बैठक बोलाइएको जानकारी दिए। प्रदेश सरकारका प्रवक्तासमेत रहेका कार्कीले बैठकबाट संसदीय दलको नेता चयन हुनसक्ने सम्भावना रहेको बताए। एमालेमा बहुमत सांसद रहेकाले नयाँ सरकार गठनको सम्भावना पनि रहेको उनको भनाइ छ।

बैठकमा नेपाल नेतृत्वको समाजवादीका सांसदलाई पनि बोलाइएको स्रोतले बतायो। तर एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्र राईले भने आफूलाई बैठकको निम्तो नआएको बताएका छन्। ‘बैठकमा बोलाए पनि गइँदैन,’ उनले भने , ‘सांसदलाई आफ्नो पक्षमा तान्नलाई हतारहतार बैठक बोलाइएको होला।’ यसरी बैठक बोलाइनु गलत भएको राईको भनाइ छ।

प्रदेश सांसद उपेन्द्र घिमिरेले बैठकमा बोलाएको भए पनि आफू नजाने बताए। नयाँ मुख्यमन्त्री चयनको विषय चर्चामा रहे पनि संसद संख्या पुर्‍याउन नसक्दा विश्वासको मत भने नपाउने उनको दाबी छ।

यसअघि मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेर आचार्य पुनः मुख्यमन्त्री बन्ने दौडमा लागेका थिए । पछि त्यो फिर्ता भयो । पार्टी विभाजनसँगै नेपालको साथ छाडेर एमालेमै बसेका आचार्यको मुख्यमन्त्री बन्ने सपना तेस्रो पटकमा पूरा हुने देखिएको छ ।

२०७४ साल माघ २६ गते सम्पन्न एमाले संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा राईसँग पराजित हुँदा आचार्यको प्रदेश १ को पहिलो मुख्यमन्त्री बन्ने अवसर गुम्यो । राईले २६ र आचार्यले २४ मत पाएका थिए । १ मत बदर भएको थियो ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १–१ जना सांसद छन्। मुख्यमन्त्री बन्नका लागि ४७ मत आवश्यक पर्छ। नेपाल नेतृत्वको समाजवादीले आफ्नो पक्षमा १५ सांसद रहेको दाबी गरिरहेको छ। एमाले संसदीय दलको बैठकमा हुने सहभागिताले पनि समाजवादी र एमालेतिर कति-कति सांसद छन्भन्ने टुंगो लाग्ने बताइएको छ।

तर प्रदेश १ मा एमालेका कम्तीमा ८ सांसदले समाजवादी रोजेमा एमालेका मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना रहँदैन। मुख्यमन्त्री राई, एमाले सचिव आचार्य र केन्द्रीय सदस्य जीवन घिमिरे लगायतका नेताहरु काठमाडौंमा छन्। उनीहरु बैठकमा सहभागी हुन बिहान विराटनगर आउने तय भएको बताइएको छ।

प्रदेश सरकारको नेतृत्व गर्ने पहिलो अवसर पाएका शेरधन २०७४ फागुन २ गते प्रदेश १ का मुख्यमन्त्री बनेका हुन्। ३ गते शपथ लिएर उनले कार्यभार सम्हालेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’र माधवकुमार नेपाल समूहले पुस १२ गते संसदमा राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। सर्वोच्च अदालतले नेकपाबाट एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि गत चैत २३ गते अविश्वासको प्रस्ताव फिर्ता भयो।

९३ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रले तत्कालीन संसदीय दलका नेता टंक आङ्बुहाङलाई कारवाही गरिसकेकाले प्रदेशमा हाल ९२ जना सांसद छन्। माओवादी छाडेर एमाले प्रवेश गरेका आङ्बुहाङ अहिले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय