काभ्रेपलाञ्चोक । मकवापुर बल्देवका स्थानीय युवाहरु सडक मर्मतमा जुटेका छन् । बर्षाका कारण सडकमा क्षति भई सवारी आवत–जावतमा समस्या भएपछि स्थानीय युवाहरु सडक मर्मत सुधारमा जुटेका हुन् ।
युवाहरूको जोश, जाँगर, समर्पण र सामूहिक प्रयासबाट बल्देव उकालोको ढलान कार्य सम्पन्न भएको हो । जुन ठाउँबाट काभ्रे जिल्लाको खानीखोला गाउँपालिका र मकवानपुर जिल्लाको बागमती गाउँपालिका जोडने बाइकको एक बैकल्पिक सडक रहेको हो ।


अविरल वर्षाले खानीखोलाको धेरैजसो ग्रामीण सडकहरू क्षेतविक्षेत भएका छन् । सडकमा समस्या भएपछि स्थानीय गाउँबासीलाई अत्यधिक समस्या भोग्नु परेको छ । यातायात, स्वास्थ्य सेवा, खेतीपाती लगायत दैनिक जीवन प्रभावित भएको अवस्थामा, स्थानीय विकासप्रेमी युवाहरू मिलेर सडक निर्माणमा जुडेको हो ।
युवाहरुको नेतृत्वमा एकजुट भएका स्थानीय युवाहरू जसमा दर्जनौं बाइक चालक, विद्यार्थी, रोजगारीरत युवाहरू लगायत समाजसेवीहरूको सहभागितामा सबैले हातेमालो गर्दै बल्देव उकालोको ढलान गरेको हो । युवाहरूले कुनै सरकारी बजेट तथा संस्थागत सहयोगमा मात्र भर नगरि आफ्नै श्रम, सहयोग र सशक्त नेतृत्वमार्फत ढलान गरेको हो ।

सहयोगी मनहरूप्रति आभार र पारदर्शिता प्रतिबद्धता
ढलान कार्यको लागि धेरैले आ–आफ्नो क्षमता अनुसार सहयोग गरेका छन्। बाइक चालकहरूका बीचमा भएको आपसी सहमतिअनुसार कम्तीमा रु. १,००० संकलन गरिने निर्णय भएको छ । हालसम्म धेरैले सोभन्दा बढी रकम सहयोग गरिसकेका छन्, बाँकीलाई पनि हार्दिक अपिल गरिएको छ। आयोजक टोलीले सबै खर्चको विवरण पारदर्शी ढंगले सार्वजनिक गर्ने स्पष्ट प्रतिबद्धता जनाएको छ।
“पैसा धेरै उठे के गर्ने?” भन्ने प्रश्नमा जवाफ…
यदि संकलन गरिएको रकम ढलान खर्चभन्दा बढी भयो भने, बाँकी रकमको उपयोगबारे सामूहिक छलफलमार्फत निष्कर्ष निकालिनेछ। यस्तो निर्णयले भविष्यमा पनि पारदर्शिता, विश्वास र सहभागितालाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

युवाशक्तिको योगदानः भविष्यप्रति आशा
खानीखोलाका युवाहरूले देखाएको उदाहरण अरू गाउँपालिकाहरूका लागि पनि प्रेरणादायक छ। विकास भनेको सरकारी पहल मात्र होइन, स्थानीय स्तरमै युवाहरूको सक्रियता, श्रम र आत्मबलले पनि सम्भव छ भन्ने कुरा बल्देव उकालो ढलान कार्यले प्रमाणित गरिदिएको छ।
यो कार्यले समाजसेवा, आपसी सहयोग, पारदर्शिता र स्थानीय नेतृत्वको महत्व झल्काएको छ। खानीखोला गाउँपालिकाको आगामी विकास योजनामा पनि यस्ता युवाशक्तिको भूमिकालाई अझ व्यापक र प्रभावशाली बनाउने अपेक्षा गरिएको छ।
सामाजिक उत्तरदायित्व र आपसी सद्भावका माध्यमबाट सम्पन्न भएको बल्देव उकालो ढलान परियोजना समुदायको सामूहिक प्रयासको प्रतिफल हो। यस्ता कार्यले स्थानीय विकासमा सकारात्मक प्रभाव पार्ने मात्र नभई सहकार्यको भावना पनि झन् बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।










