काभ्रे । नेकपा (माओवादी केन्द्र) काभ्रे जिल्लाको खानीखोला गाउँपालिका १ नं. वडाको “खानीखोला–काठमाडौं सम्पर्क मञ्च” गठन भएको छ ।
शुक्रबार (आज) पनौतीको ताम्राकार पार्टी प्यालेस भएको भेला तथा प्रशिक्षण कार्यक्रममा दिपक गोलेको अध्यक्षतामा, सचिव दिपेश लामा र कोषाध्यक्ष निमा लामा सहित २३ सदस्यीय कार्यसमिति गठन भएको हो ।


कार्यक्रमका प्रमुख अतिथि पुर्व उर्जाराज्य मन्त्रि तथा प्रतिनिधि सभा सदस्य माननीय सूर्य मान दोङ (लालध्वज)ले कार्यक्रमको सम्बोधन गर्दै नवगठित सम्पर्क मञ्चका सदस्य तथा पदाधिकारीहरुलाई बधाई र शुभकामना व्यक्त गर्दै सम्पर्क मञ्चले पार्टीमा सहजीकरण तथा संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। आफू निर्वाचित भएको क्षेत्र भएकाले खानीखोला वडा नं. १ का हरेक समस्यामा सधैं साथ दिने र केन्द्र सरकारसँग बजेट तथा समस्या समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।दोङले खोपासी–तालढुङ्गा सडक तथा च्याल्टी–फलामेटार सडक निर्माणका लागि केन्द्रिय सरकारसँग बजेट पार्न निरन्तर प्रयासरत रहेको पनि जानकारी दिनुभयो।
कार्यक्रमका विशिष्ट अतिथि, नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) ले आफ्नो कार्यकालभर वडा नं. १ का जनताको घर–दैलोमा पुगेर समस्या समाधान गर्ने र पार्टी निर्माणमा विशेष प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले निर्वाचन पछि कृषकहरुलाई विभिन्न उत्पादन क्षेत्रमा अनुदान वितरण गर्दै आएको र त्यसबाट खानीखोला बासीहरू खुशी भएको पनि बताउनुभयो।
कार्यक्रममा अन्य अतिथिहरुमा जिल्ला कमिटी सचिव दैबलाल घिसिङ (अनुशिल), खानीखोला इन्चार्ज मिना पाख्रीन, पनौती इन्चार्ज होम खुलाल, महिला संगठन जिल्ला कमिटी अध्यक्ष मनिता थिङ, खानीखोला गाउँकमिटी अध्यक्ष अविरल जिम्बा, वडा नं. ५ अध्यक्ष बुद्धि बहादुर स्याङ्तान (बाबू), युवा नेता तथा समाजसेवी राजन अधिकारी, महिला जिल्ला कमिटी सदस्य सृजना थिङ, पनौती नगर कमिटी सचिव बुद्ध तामाङ लगायतका पार्टीका जिम्मेवार पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

सम्पर्क मञ्चको गठनसंगै वडा नं. १ का उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ), जिल्ला कमिटी सचिव दैबलाल घिसिङ तथा व्यवस्थापन समिति अध्यक्ष दिनेश थिङ (चर्चित) लगायतका नेताहरुले खादा लगाई सम्मान गरे।
कार्यक्रमको सञ्चालन वडा कमिटी अध्यक्ष दिनेश थिङ (चर्चित) ले गर्नुभएको थियो ।











