काभ्रेपलान्चोक । चिया पसलदेखि भट्टी पसलसम्म, किराना पसलदेखि सुन पसलसम्म, गाउँदेखि शहरसम्म, सामान्य जनतादेखि नेतासम्म जताततै स्थानीय तहको निर्वाचनको चर्चाले छोएको छ । अझ भनौ यी सबै पक्षलाई निर्वाचनको बहसले तताएको छ । काभ्रेका जनताहरु पनि यस प्रकारको बहस गर्न थालेका छन् । पहिलो कुरा त निर्वाचन हुन्छ की हुँदैन ? भन्ने कुरा मै आशंका व्यक्त गरिरहेका छन् । त्यसपछि कुन ठाउँमा कुन पार्टीको पहुँच कस्तो छ ? कसले टिकट पाउँछ ? कसले चुनावमा बाजि मार्छ ? यस्तै यस्तै विषयमा बहस केन्द्रित भएका छन् ।
काभ्रेमा क्रियाशिल दलहरु आफ्नो उम्मेदवार चयनमा व्यस्त छन् । नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा एमाले लगायत अन्य साना दलहरु आ-आफ्नो पार्टीको नगरपालिका,गाउँपालिका देखि सबै वडाहरुमा आफ्नो पार्टीको उम्मेदवार छान्ने मै व्यस्त छन् ।अहिलेसम्म कुनै पनि पार्टीले उम्मेदवारको घोषणा गरेको छैन ।उम्मेदवार घोषणा नभए पनि प्रय: सबै पार्टीले टोल टोलमा घरदैलो अभियान समेत सञ्चालन गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन भएकोले पनि निर्वाचन कडा हुने प्रष्ट छ ।
गणतन्त्र नेपाल र संघीय संरचना अनुसारको दोस्रो स्थानीय तहको निर्वाचन भएकोले पनि यसलाई सबैले चासोका साथ लिएका छन् । पहिलो स्थानीय तहको निर्वाचन २०७४ सालमा सम्पन्न भएको हो । पहिलो निर्वाचनमा काठमाडौंको सिंह दरबार गाउँ गाउँमा आउँदैछ भन्ने नारा सहित निर्वाचन सम्पन्न भएको थियो । साच्चिकै काठमाडौंको सिंह दरबार गाउँ गाउँमा आयो कि आएन? जनताको चाहना बमोजिमको स्थानीय सरकारले काम गर्न सक्यो कि सकेन? त्यसको मुल्यांकन जनता गर्न आवश्यक छ।
स्थानीय निर्वाचन हुँदैछ भनेर हामी उत्साहित छौ । तर कस्तो उम्मेदवार छान्न सक्यौ भने मात्रै जनताको चाहना अनुसार काम गर्न सक्छौ अब ध्यान त्यतातर्फ दिन जरुरी छ । स्थानीय तहको निर्वाचन बैशाख ३० मा हुदैछ । यसमा हामीले योग्य उम्मेद्वार छान्न सक्नुपर्छ । कुनै पनि पार्टीको अन्धभक्त भएर होईनकी स्पष्ट दृष्टिकोण बोकेका राजनीतिक दल, गाउँलाई परिवर्तन गर्न सक्ने व्यक्ति, राजनीतिक र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामाजिक सेवाको भावना बोकेको मानिसलाई निर्वाचनमा विजयी गराउनुपर्छ ।
हामीकहाँ अझै पनि उच्च खालको राजनीतिक संस्कारको विकास भई सकेको छैन् । हामी जनताहरु कुनै एउटा दललाई समर्थन गर्न थाल्यौ भने उसका हरेक गतिविधि राम्रा लाग्छन्, चाहे उसले ठूलै अपराध नै किन नगरोस् फेरि पनि हामी उसैलाई नै समर्थन गरेका हुन्छौ । हाम्रो लागि सबै भन्दा ठूलो दुर्भाग्य भनेको यही नै हो । फलस्वरुप राम्रो नेता छनौट गर्न सक्दैनौ । स्पष्ट भिजन भएका मानिसहरु सधै पछि नै हून्छन् । यो पार्टी, त्यो पार्टी, यो मान्छे, त्यो मान्छे भनेर होईन जसले गाउँको भविष्य उज्ज्वल बनाउन सक्छ, जसलाई नेतृत्वमा ल्याउँदा हाम्रो भन्ने भाव पैदा गराउन सक्छ, त्यही मान्छेलाई आफ्नो नेता बनाउनुपर्छ ।
राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्ने संस्कारको कहिल्यै पनि विकास भएन । हुन त पीडा यस्तो पनि छ । जसले आफ्नै पार्टीको गलत कार्यको विरुद्धमा आवाज उठाउँछ, उ विरोधी नेता बन्छ । पार्टीबाट सिधै पछि । यस कारण पनि उ चुप वस्छ । अनि उसका पछि लाग्ने जनताहरु पनि तै चुप मै चुप । अनि कसले बोल्ने गलतका विरुद्ध । त्यसमा पनि सोझा र साझा नेताहरुको स्थिति के हुन्छ भन्ने कुरा काभ्रेका केही दलहरुमा हे¥यौ भने पनि प्रष्ट हुन्छ ।
अब काभ्रेकै बारेमा थोरै चर्चा परिचर्चा गरौ । जनताको घर घरमा भन्दा सामाजिक सञ्जालमा धेरै राजनीति छाएको छ । सामाजिक सञ्जाल हेर्दा काम गर्ने मानिसहरु भन्दा पनि गफ गर्नेहरु उम्मेदवार बन्ने हुनकी भन्ने संकेत गर्छ । जो वास्तवमै जनताको सेवा गर्छन् । जनताको पीडा बुझेका छन् । गाउँ घरको विकासको सम्भावना देखेका छन् । ती मानिसहरु गुमनाम छन् । जो अलि टाईफाई गर्छ । गाउँमा भन्दा शहरमा धेरै समय विताउँछ । अझ भनौ शहरमा बसेर गाउँको भविष्य बनाउन खोज्छ ती मानिसहरुको हालीमुहाली देखिन्छ । यस मानेमा पनि आम मतदाता सजग र सचेत हुन आवश्यक छ ।
उम्मेदवारकै कुरा गरिरहँदा काभ्रेमा क्रियाशिल काँग्रेस, एमाले, माओवादी केन्द्रबाट युवा आकांक्षीहरुको संख्या पनि कम छ्रैन् । के साँच्चै यी पार्टीहरुले योग्य र सक्षम युवाहरुलाई उम्मेदवार बनाउँछन त ? त्यो हेर्न बाँकी छ।सबै पार्टीमा चुनावमा टिकटको आकांक्षा राख्ने धेरै हुन्छ तर जतिले आकांक्षा राखेपनि अन्ततः टिकट दिने भनेको पार्टीले नै हो । जबसम्म पार्टीले पत्याउँदैन जतिसुकै बलियो जनाधार, विश्वास भएपनि काम छैन् । हामी स्वतन्त्र भन्ने त कोही छदै छैनौ भने पनि अतियुक्ति नहोला । अब कुरा रह्यो पार्टीले कस्तो व्यक्तिलाई टिकट दिन्छन्, त्यसमा पनि भर पर्छ । तसर्थ राजनीतिक दलहरुले उम्मेदवार छनौट गर्दा निकै ध्यान पु¥याउनुपर्ने स्थिति आएको छ । चाहे जुनसुकै पार्टीले जितोस् तर सक्षम, सवल र योग्य उम्मेदवारले जित्नुपर्छ ।
हाम्रो भन्दा पनि राम्रो नेतृत्व चयन कसरी हुन सक्छ अबको बहस यतातर्फ हुनुपर्छ । अबको उम्मेदवारको योजना भनेको नगर ,गाउँ गाउँमा विकास गर्न सक्ने,गाउँमा पर्यटन, कृषि, पशुपालन लगायतका क्षेत्रमा विकास गरि आय आर्जनमा बृद्धि गर्न सकिन्छ भन्ने हुनुपर्छ । नकी खानेपानीको धारा, विजुलीको पोल, मासु, रक्सी बाडेर चुनाव जित्नेमा होईन ।
काभ्रेमा काँग्रेस, एमाले र माओवादीको त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।पहिलो स्थानीय निर्वाचनमा काभ्रे का १३ वटा तहमध्ये एमालेले ७, माओवादीले २ र नेपाली कांग्रेसले चार तह जितेको अवस्था थियोे । स्थानीय चुनावमा पहिलो भएको एमालेले ३ सय ३१ सिट, दोस्रो भएको नेपाली कांग्रेसले २ सय २२ सिट र तेस्रो भएको माओवादीले १ सय २७ सिट जितेको थियो । स्थानीय तहमा सबैभन्दा धेरै मत एमालेले प्राप्त गरेको थियो ।पार्टीगत रुपमा हेर्दा काँग्रेस र एमालेको प्रतिस्पर्धा तिव्र हुन्छ यद्यपी माओवादीको पक्षमा पछिल्लो समय बन्दै गएको माहोलले भने काँग्रेस एमालेलाई जित सहज छैन् ।
अन्त्यमा, गणतन्त्र नेपालको संघीय संरचना अनुसारको स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु पनि हामी माझ चुनौति छ । निर्वाचन सम्पन्न गर्नका लागि सबैले आ आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ । हाम्रो भविष्य निर्माण गर्ने हामी आफैले हो । हामीले जस्तो नेता छनौट गर्छौ त्यसमा हाम्रो भविष्य निर्भर रहन्छ । तसर्थ हाम्रोको पछि लागेर होईन राम्रो पक्षमा मतदान गरौ । आफ्नो गाउँ, नगर आफै निर्माण गरौ ।