काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईसहित सबै पूर्वपदाधिकारीहरुले लिँदै आएको मापदण्ड विपरीतका सबै सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको छ ।
गृह मन्त्रालयले पूर्वपदाधिकारीहरूलाई स्वीकृत मापदण्डभन्दा बढी र मापदण्डबिना प्रदान गरिएका सुरक्षाकर्मी सम्बन्धित सुरक्षा निकायले तत्काल फिर्ता बोलाउने निर्णय गरेको हो । यो निर्णय वहालवाला पदाधिकारीहरूको हकमा पनि भएको गृह मन्त्रालय स्रोतले बताएको छ ।


गृहको निर्णयसँगै शुक्रबार बिहानसम्ममा मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता भइसक्नेगरी सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए ।
हाल सबैजसो पूर्वप्रधानमन्त्रीहरुले मापदण्ड विपरीतका सुरक्षाकर्मी प्रयोग गर्दै आएका छन् । सरकारको निर्णयअनुसार ती अब सबै फिर्ता हुनेछन् ।










