खानीखोला, काभ्रे । रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपाको प्राविधिक सहयोग तथा नेपाल परिवर्तनशील समाजको आयोजनामा र खानीखोला गाउँपालिकाको समन्वयमा आयोजित तीनदिने बृहत् निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। वडा नं. ६ र ७ को विभिन्न तीन स्थानमा सञ्चालन गरिएको शिविरबाट ४०० भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्।
शिविरमा स्थानीय बासिन्दाहरूको आँखा परीक्षण, परामर्श, मोतिबिन्दु पहिचान, आवश्यक औषधि वितरण तथा उपचार सेवा प्रदान गरिएको थियो। मोतिबिन्दु पहिचान भएका ५० जनाको निःशुल्क शल्यक्रिया रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपामा गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। सो समूह भोलि बिहान बनेपास्थित बुडोल पुगेर शल्यक्रियाका लागि तयारी छन्।


पहिलो दिन वडा नं. ७ को जनहित माध्यमिक विद्यालयमा भएको शिविरमा त्यस आसपासका स्थानीय बासिन्दाहरूले उल्लेखनीय संख्यामा आँखा परीक्षण तथा परामर्श लिएका छन् । त्यस्तै, दोस्रो दिन महेन्द्र ज्योति आबि, खोरभन्ज्याङका विद्यार्थी, अभिभावक तथा समुदायका नागरिकहरुले सेवाग्राहीको रूपमा सहभागिता जनाए ।साल्धारा स्वास्थ्य चौकीमा भएको अन्तिम दिन पनि धेरै नागरिकले परीक्षण, परामर्श तथा उपचार सेवा लिएका थिए।
कार्यक्रमको उद्घाटन तथा समापन गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत रामकुमार तिमल्सिना, वडा नं. ७ का वडा अध्यक्ष राम मोक्तान, वडा नं. ६ का वडा अध्यक्ष बृहस्पति घिसिङ, युवा नेताहरू, समाजसेवी, बुद्धिजीवीलगायत स्थानीय विशिष्ट व्यक्तिहरूको उपस्थिति उल्लेखनीय थियो।
काभ्रे जिल्लाको बिकट क्षेत्र मानिने खानीखोला गाउँपालिकाका विशेषगरी वृद्धवृद्धा, आर्थिक रूपमा कमजोर तथा नियमित स्वास्थ्य सेवा पहुँच बाहिरका नागरिकका लागि यो कार्यक्रम अत्यन्तै उपयोगी भएको नेपाल परिवर्तनशील समाजका अध्यक्ष क्षेत्र लामा (वाइबा) ले बताए। कार्यक्रम सफल बनाउन योगदान पुर्याउने गाउँपालिका अध्यक्षदेखि उपाध्यक्ष, कर्मचारी, स्वास्थ्यकर्मी, प्राविधिक टोली, स्थानीय बासिन्दा तथा स्वयंसेवक सबैलाई अध्यक्ष लामाले विशेष धन्यवाद व्यक्त गरेका छन्।
उनीहरूले आगामी दिनमा पनि यस्ता सामुदायिक स्वास्थ्य कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । तीनदिने निःशुल्क आँखा शिविरले खानीखोला गाउँपालिकामा आँखा रोग पहिचान, उपचार तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान गरेको छ।










