काठमाडौँ । रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटमा मङ्गलवार बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । सो घटनामा मृतकका आफन्तले जिल्ला सदरमुकाम मन्थलीमा बुधवार दिनभर प्रदर्शन गरे ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको थियो । स्थानीय प्रशासन र पीडितहरूको बिचमा गए राति ८ बुँदे सहमति भएको छ । सहमति पछि मृतकका आफन्तहरू पोस्टमार्टम गरेर शव बुझ्न तयार भएका छन् ।

शव बुझ्न १० जना पीडित परिवारले जाहेरी दिएको रामेछापका डीएसपी भोला भट्टले रातोपाटीलाई बताए । उनले भने, ‘पोस्टमार्टम गरेर शव जिम्मा लगाउने प्रक्रिया सुरु गरिएको छ ।’ जिल्ला सुरक्षा समिति, पीडित परिवार र अरनिको यातायात सेवा प्रालिको बिचमा घाइतेको उपचारमा कुनै कमी हुन नदिने सहमति भएको छ ।

त्यस्तै मृतकका परिवारलाई कानुन बमोजिम पाउने क्षतिपूर्ति तत्काल व्यवस्था गर्ने र थप क्षतिपूर्तिको लागि अरनिको यातायात प्रालिसँग वार्ता गर्ने सहमति भएको छ । डीएसपी भट्ट भन्छन्,‘थप क्षतिपूर्तिको लागि जिल्ला सुरक्षा समितिले सहजीकरण गर्ने निर्णय भएको छ ’

सवारी चालकलाई कडा कारबाही गर्ने र दुर्घटनामा परेर बेपत्ता भएकाहरूको खोजी जारी राख्ने र उनीहरूका परिवारलाई पनि मृतकको परिवार सरह क्षतिपूर्ति दिने सहमति भएको छ ।

दुर्घटनामा परेर ३ जना बेपत्ता छन् । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस तामाकोसीमा खस्दा ३ जना बेपत्ता भएका हुन् । आफन्तहरुका अनुसार रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार, लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङकी ८ वर्षीया रेमिसा तामाङ र मन्थली नगरपालिका–२ का ९ वर्षीय क्रिचन तामाङ बेपत्ता छन् । उनीहरूका आफन्तले खोजतलासको लागी जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दिएका छन् ।

बेपत्ताको खोजीमा सैनिक टोली र सशस्त्रको गोताखोर टिम परिचालन गरिएको छ । विपद् व्यवस्थापन बेश खुर्कोट, सिन्धुलीबाट १० जना गोताखोर दुर्घटनास्थलमा परिचालन गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

दुर्घटनामा परेर मृत्यु हुनेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका घर भएका २१ वर्षीया बबि तामाङ, ३० वर्षीय दीपेश बस्नेत, दिपेन्द्र बस्नेत, सानुमाया तामाङ, तारा तामाङ, रमिता तामाङ, ३६ वर्षीय भीमबहादुर तामाङ, ४५ वर्षीय मन कुमारी बरुवाल, सिन्धुली घर भएका ३४ वर्षीय शिव श्रेष्ठ, दोलखा घर भएका मान बहादुर तामाङ, लिखु तामाकोसी गाउँपालिका बस्ने १६ वर्षीय सुकृत तामाङ र उमाकुण्ड घर भएका ५७ वर्षीय धर्मसिंह सुनुवार छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय