काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका वडा नं. ४ को एउटा सानो गाउँमा जन्मेका डिबि लामा एउटा गरिब परिवारमा जन्मिएँ। मेरो जन्मसँगै सुरु भएको जीवनको बाटो कुनै सजिलो यात्रा थिएन। त्यो बाटोमा अभाव थियो, दुःख थियो, आँसु थियो, अनि कहिल्यै हार नमानेको संघर्ष थियो।

बाल्यकाल सम्झिँदा आज पनि मन भारी हुन्छ। हाम्रो घरको आर्थिक अवस्था निकै कमजोर थियो। घरमा चुलो बाल्न पनि कहिलेकाहीँ गाह्रो हुन्थ्यो। आमाबुबाको अनुहारमा देखिने चिन्ता र थकानले मनलाई गहिरो चोट पुर्‍याउँथ्यो। सानो उमेरमा नै मैले जीवनको कठोर यथार्थ देखेँ।

अरू बालबालिका हाँस्दै, खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका बेला म भने अभाव र संघर्षको बीच हुर्किरहेको थिएँ। कहिलेकाहीँ मनमा प्रश्न उठ्थ्यो—किन हाम्रो जीवन यति कठिन छ? तर समयसँगै मैले बुझ्दै गएँ, जीवनले सबैलाई एउटै बाटो दिँदैन। कसैलाई सहज बाटो दिन्छ, कसैलाई संघर्षको उकालो।

गरिबीले मलाई धेरै कुरा सिकायो। अभावले धैर्य सिकायो, दुःखले हिम्मत सिकायो, अनि आँसुले जीवनको मूल्य सिकायो।

समय बित्दै गयो। जीवनका अनेक उतारचढावका बीच मैले पत्रकारिता क्षेत्रमा पाइला चाल्ने निर्णय गरेँ। मेरो मनमा एउटा विश्वास थियो—सत्य बोल्ने, जनताको आवाज उठाउने र समाजका पीडाहरू उजागर गर्ने काम नै साँचो सेवा हो।
तर पत्रकारिताको यात्रा सुरु गर्नु भनेको केवल एउटा पेशा सुरु गर्नु मात्र थिएन, त्यो त झन् ठूलो संघर्षको ढोका खोल्नु जस्तै थियो।

पत्रकारितामा नाम कमाउन सजिलो हुँदैन। गाउँ–गाउँ, उकालो–ओरालो हिँडेर समाचार खोज्नु पर्थ्यो। कहिलेकाहीँ जेबमा एक रुपैयाँ पनि नहुँदा पनि समाचारको खोजीमा निस्किनु पर्थ्यो। पेट खाली भए पनि कलम भने खाली हुन दिइनँ।

त्यस क्रममा मैले देशका धेरै ठाउँहरूमा यात्रा गरेँ। कहिले काहीँ कामको सिलसिलामा विदेश सम्मको यात्रा पनि भयो। तर यात्रा जति टाढा पुगे पनि मनभित्रको अभाव र पीडा भने सधैं साथमै थियो।

कहिले काहीँ यस्तो पनि समय आयो—जब गोजीमा एक रुपैयाँ पनि हुँदैनथ्यो। तर घरमा छोराछोरीको सानो सानो चाहना हुन्थ्यो।
“बाबा, चकलेट खान्छु…”
“बाबा, म.म खान्छु…”
“बाबा, चाउ चाउ किनिदिनु न…”

छोराछोरीका ती साना आवाजहरू सुन्दा मन भित्रैदेखि टुट्थ्यो। बाबु भएर पनि छोराछोरीको सानो इच्छा पूरा गर्न नसक्ने अवस्था… त्यो पीडा शब्दमा बयान गर्न गाह्रो हुन्छ।
त्यस्तो बेला म मुस्कुराउने प्रयास गर्दै भन्थेँ—

“अहिले पैसा छैन बाबु… पैसा त बैंकमा छ, निकाल्न पनि मिल्दैन… निकाल्न पाएपछि किन्न जाऔँला।”
छोराछोरीले त्यो कुरा साँचो मानेर टाउको हल्लाउँथे। तर त्यो क्षणमा मेरो मन भने भित्रैदेखि रोइरहेको हुन्थ्यो।
एक बाबुको लागि सबैभन्दा ठूलो पीडा भनेको आफ्नै सन्तानको सानो खुशी पूरा गर्न नसक्नु हो।

जीवनमा यस्ता धेरै क्षण आए, जहाँ मन निकै कमजोर बन्यो। कहिले काहीँ लाग्थ्यो—अब शायद यो संघर्ष सहन गाह्रो छ। तर फेरि मनभित्रको आशाले भनिरहन्थ्यो—
“हिम्मत हार्नु हुँदैन, जीवन यही संघर्षको नाम हो।”
पत्रकारिताको यात्रामा मैले धेरै अपमान, धेरै पीडा पनि सहनुपर्‍यो। मेहनत गरेँ, तर कहिले काहीँ त्यसको मूल्य पाएनँ। तर पनि मैले कलम छोडिनँ।

मलाई लाग्छ—पत्रकारिताको साँचो शक्ति पैसा होइन, सत्य बोल्ने साहस हो।

जीवनमा एउटा घटना अझै मनमा गहिरो गरी बसेको छ। मेरो लागि अत्यन्तै महत्वपूर्ण एउटा फोटो हरायो। त्यो फोटो केवल एउटा तस्वीर मात्र थिएन। त्यो मेरो जीवनको एउटा अमूल्य सम्झना थियो। त्यो तस्वीरमा मेरा भावना, मेरा सपना र जीवनको एउटा महत्वपूर्ण पल कैद थियो।

जब त्यो फोटो हरायो, मनभित्र एउटा गहिरो खालीपन महसुस भयो। जस्तो लाग्यो—जीवनको एउटा अंश नै हरायो।
त्यो दिन म धेरै भावुक भएँ। आँखा रसाए। जीवनले फेरि एउटा बहुमूल्य कुरा खोसिदिएको महसुस भयो।
तर जीवन भनेको केवल हराइरहने कथा होइन। जीवन भनेको फेरि उठ्ने साहस पनि हो।

आज पनि म संघर्षको यात्रामै छु। गरिबीका घाउहरू अझै मनमा छन्। घरको आर्थिक समस्या अझै चुनौती बनेको छ। तर यी सबै पीडाहरूले मलाई झुकाउन सकेनन्।

मेरो कथा कुनै ठूलो उपलब्धिको कथा होइन। यो एउटा साधारण मानिसको कथा हो—जो अभाव, आँसु र संघर्षका बीच पनि आफ्नो सपना जोगाएर अघि बढिरहेको छ।

कहिले काहीँ रातको एकान्तमा बसेर बितेका ती दिनहरू सम्झिन्छु। छोराछोरीको सानो चाहना, घरको अभाव, पत्रकारिताको कठिन यात्रा—सबै सम्झिँदा मन निकै भावुक हुन्छ।

तर त्यहीँबाट मलाई नयाँ शक्ति पनि मिल्छ।
किनकि म अझै विश्वास गर्छु—संघर्षले कहिल्यै धोका दिँदैन। आजका आँसुहरू भोलिका प्रेरणाका कथा बन्न सक्छन्।
त्यसैले म अझै अघि बढिरहेको छु—आशा, साहस र सत्यको कलम समातेर।

मेरो कथा केवल मेरो मात्र होइन—यो कथा हजारौँ त्यस्ता मानिसहरूको पनि हुन सक्छ, जसले अभाव, पीडा र संघर्षको बीच जीवन बिताइरहेका छन्।
जीवन चलिरहेको छ।
पीडा सबैको हुन्छ।

फरक यति मात्रै हो—कसैले देखाउँछ, कसैले चुपचाप सहन्छ।
अन्त्यमा एउटा सानो कुरा भन्न चाहन्छु—

यदि मेरो यो कथाले कसैको मन छोयो भने त्यसलाई जीवनको एउटा सानो सत्य सम्झनुहोस्।
यदि कसैलाई यो कथा अप्ठ्यारो लाग्यो भने म क्षमा चाहन्छु।
आजका लागि यति नै।

मेरो हातबाट चलेको यो कलमलाई यहीं रोक्दैछु।
बिदाइ।
बाइ बाइ। ✍️

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय