चितवन । चितवनको भरतपुर महानगरपालिका-२८ मा गैँडाको आक्रमणबाट एकै परिवारका दुई जना गम्भीर घाइते भएका छन्। आइबार बिहान करिब साढे ६ बजे बर्दाहा मध्यवर्ती सामुदायिक वनमा घाँस-दाउरा गर्न गएका दम्पतीलाई गैँडाले आक्रमण गरेको हो।
घाइते हुनेहरूमा ४३ वर्षीय युवराज महतो र उनकी ३६ वर्षीया श्रीमती रिकुमाया महतो रहेका छन्। वनमा काम गरिरहेको अवस्थामा अचानक निस्किएको गैँडाले उनीहरूलाई आक्रमण गरेको थियो।


घटनालगत्तै उनीहरूलाई उद्धार गरी उपचारका लागि बिहान पौने ९ बजे भरतपुरस्थित सरकारी अस्पताल ल्याइएको छ। अस्पतालका अनुसार युवराज महतोको अवस्था निकै गम्भीर छ। उनको अनुहार, पेट, छाती र खुट्टामा गहिरो चोट लागेको छ। उनकी श्रीमती रिकुमायाको भने बायाँ हातको पाखुरामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिव्यनगरबाट प्रहरी नायब निरीक्षक नवराज जोशीको नेतृत्वमा टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। घटनास्थल दिव्यनगर प्रहरी कार्यालयबाट करिब ८ किलोमिटर पश्चिममा पर्दछ।










