अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा युद्धविराम अवधि लम्ब्याएका छन्।

मार्च ७ मा १४ दिनका लागि भएको युद्धविराम अवधि बुधबारदेखि समाप्त हुँदै थियो।

युद्धविराम अवधि समाप्त हुन केही घन्टा बाँकी हुँदा ट्रम्पले यसको अवधि अनिश्चितकालका लागि बढाइएको घोषणा आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसलमार्फत गरेका हुन्।

‘इरानका नेता र प्रतिनिधिहरूले साझा प्रस्ताव ल्याएर वार्ता टुंगोमा नपुग्दासम्म युद्धविराम पनि जारी राख्ने निर्णय गरेको छु,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।

युद्धविराम जारी राख्नका लागि पाकिस्तानले अनुरोध गरेको पनि ट्रम्पले खुलाएका छन्।

युद्ध छैटौं हप्तामा पुग्दा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख असिम मुनिरको मध्यस्थतामा दुई देशबीच युद्धविराम भएको थियो।

‘यही अवस्थामा असिम मुनीर र शहबाज शरीफले गरेको अनुरोधपछि हामीलाई इरानमाथि गर्ने भनिएको आक्रमण केही समयका लागि रोक्ने भएका छौं,’ ट्रम्पले भनेका छन्।

यद्यपि इरानमाथिको नाकाबन्दी जारी राख्न र अरू सबै हिसाबले तयारी अवस्थामा बस्न पनि सेनालाई निर्देशन दिइएको ट्रम्पले बताएका छन्। ‍

तर यो घोषणा एकपक्षीय देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। इरान र इसराइलले युद्धविराम थपबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।

इरानतर्फबाट औपचारिक प्रतिक्रिया नआए पनि इस्लामिक रिभोलुसनरी गार्डसँग आबद्ध तस्निम समाचार एजेन्सीले इरानले युद्धविराम थप्नका लागि इरानले आग्रह नगरेको दाबी गरेको छ।

साथै, अमेरिकी नाकाबन्दीलाई बल प्रयोग गरेर तोड्ने चेतावनी दिएका छन्।

यसअघि ट्रम्पले युद्धविराम अवधि नबढाउने बताएका थिए। १४ दिनको युद्धविराम समयभित्रै दीर्घकालीन सम्झौता हुनुपर्ने, त्यसो नभए इरानको ऊर्जा संरचना र पुलहरू ध्वस्त पार्ने चेतावनी उनले दिएका थिए।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलगायतले ट्रम्पको उक्त चेतावनीको आलोचना गर्दै नागरिक संरचनामाथि आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनविरुद्ध हुने बताएका थिए।
ट्रम्पले बढाए युद्धविराम अवधि, वार्ता टुंगोमा नपुग्दासम्म जारी रहने

फेब्रुअरी २८ देखि सुरु भएको यो द्वन्द्वमा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानविरुद्ध सैन्य कारबाही थालेका थिए। ट्रम्पले इरान सरकार आन्तरिक रूपमा विभाजित भएको दाबी गर्दै त्यही कारण युद्धविराम थपिएको बताएका छन्।

यता, इस्लामावादमा हुने भनिएको दोस्रो चरणको वार्ताबारे अनिश्चितता कायम छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले भने युद्धविराम थप्ने निर्णयका लागि ट्रम्पलाई धन्यवाद दिएका छन्।

‘दुवै पक्षले युद्धविराम पालना गर्दै इस्लामावादमा हुने दोस्रो चरणको वार्ताबाट स्थायी शान्ति सम्झौतामा पुग्ने अपेक्षा छ,’ उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।

दोस्रो चरणको वार्ता कहिले हुने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।

दोस्रो चरणका लागि इस्लामावादले मध्यस्थता गरिरहँदा अमेरिकाले हर्मुज नजिकैबाट इरानी पानीजहाज कब्जा गरेपछि वार्ता अनिश्चित बनेको थियो।

इरानमा शासन चलाइरहेको इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी) ले अमेरिकाले इरानलाई हर्मुजमा लगाएको नाकाबन्दी नखुलाएसम्म वार्तामा नबस्ने अडान लिएकाले वार्ता अनिश्चित भएको बताइन्छ।

अमेरिकासँग वार्ता गर्ने विषयमा इरानमा आन्तरिक विभाजन देखिएको छ। मध्यमार्गी राजनीतिक नेताहरू वार्ता गरेर अमेरिकासँग सुलह गर्ने पक्षमा देखिएका छन् भने सेनाले चाहिँ अमेरिकासँग झुक्न नहुने भनेर कडा सर्तहरू अघि सारेको भनेर विभिन्न अमेरिकी मिडियाले लेखेका छन्।

इरानका राजनीतिक नेताहरूमाथि सेना हावी भएकाले हर्मुज फेरि बन्द भएको समाचार आएका छन्।

शुक्रबार इरानी विदेश मन्त्री अब्बास अराग्चीले सामाजिक सञ्जाल एक्समार्फत लेबननबारे भएको युद्धविराम हुञ्जेलसम्मका लागि हर्मुज पूर्ण रूपमा खुलेको घोषणा गरेका थिए।

‘लेबननमा भएको युद्धविरामपछि स्ट्रेट अफ हर्मुजमार्फत सबै व्यावसायिक जहाजहरूको आवागमन युद्धविरामको बाँकी समयका लागि पूर्ण रूपमा खुलाइएको छ,’ उनले शुक्रबार लेखेका थिए।

तर इरानमा शासन चलाइरहेको इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी) ले शनिबार देखि नै फेरि पानीजहाजहरूको आवतजावतमा कडाइ गरेको छ। हर्मुज पार गरिरहेको दुईवटा भारतीय जहाजमा इरानले गोलीबारी समेत गर्‍यो।

राजनीतिक नेताहरूमाथि आइआरजिसी हाबी भएकाले हर्मुज फेरि बन्द भएको अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको छ।

विदेश मन्त्री अब्बास अराग्चीले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत हर्मुज पूर्ण रूपमा खुलाइएको जानकारी दिएको केही घण्टामै इरानी नौसेनाले रेडियोमार्फत जहाजहरूलाई हर्मुज नखुलेको सूचना दिएका थिए।

‘हामी हाम्रा सर्वोच्च नेता मोज्तबा खमेनीको आदेशमा हर्मुज खोल्नेछौं, कुनै मूर्खको ट्विटको भरमा होइन,’ भनेर आफूलाई आइआरजिसीको नौसेनाको सदस्य बताउने एक व्यक्तिले रेडियो सन्देश प्रवाह गरेको जर्नलले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हर्मुजमा लगाएको नाकाबन्दी नखोलेकाले इरानले पनि हर्मुज अझै बन्द राख्ने र जहाजहरूलाई जानका लागि अनुमति चाहिने आइआरजिसीले पछि जानकारी दियो।

अमेरिकाले लेबननमा युद्धविराम गराएका कारण इरानी राजनीतिक नेताहरूले अमेरिकासँगको वार्तालाई सहज पार्न हर्मुज खोलेको घोषणा गरेका थिए। तर आइआरजिसीले तुरून्तै आफ्नो प्रभुत्वको प्रयोग गरेर हर्मुज बन्द रहेको घोषणा गरेको जर्नलले लेखेको छ।

यसअघि पनि आइआरजिसीले इरानका राष्ट्रपतिलाई अप्ठ्यारो पार्ने काम गरिसकेको छ। अमेरिका र इसराइलसँगको युद्ध सुरू भएको एक हप्तापछि इरानी राष्ट्रपति मसुद पेजेस्कियान खाडीका छिमेकी राष्ट्रहरूमा इरानले प्रहार गरेकोमा माफी माग्दै फेरि आक्रमण नगर्ने सन्देश दिएका थिए। तर उनको सन्देश प्रशारण भएको केही घण्टामै आइआरजिसीले छिमेकी राष्ट्रहरूमा फेरि ड्रोन र मिसाइल हमला गरेको थियो।

यसपटक पनि नरमपन्थी पेजेस्कियानका विदेश मन्त्रीले हर्मुज खुलेको घोषणा गरेको केही बेरमै आइआरजिसीले फेरि सो जलमार्ग बन्द गरेको हो।

त्यस्तै अमेरिकासँग वार्तामा बस्ने कि नबस्ने भन्ने बारे सेना र नेताहरूको मत बाझिएको देखिन्छ। दोस्रो चरणको वार्ताको कुनै योजना छैन भनेर इरानी सरकारी टेलिभिजनले उद्धृत गरेको अज्ञात स्रोत आइआरजिसी रहेको देखिन्छ।

यस्तो सन्देश आएपनि अर्को राष्ट्रपति पेजेस्कियानले अमेरिकासँगको तनाव कम गर्न कूटनीतिक मार्ग अपनाउनुपर्ने बताएका हुन्।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा तयार पारिएको)

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय