काभ्रे । “पढ्नका लागि उमेरले छेक्दैन” भन्ने भनाइलाई काभ्रेको खानीखोला गाउँपालिका–५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङतान ले व्यवहारमै प्रमाणित गरेका छन्।

जनप्रतिनिधिको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका स्याङतानले २५ वर्षपछि पुनः अध्ययनलाई निरन्तरता दिँदै २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सफलतापूर्वक उत्तीर्ण गरेका हुन्।

२०५७ सालमा विभिन्न कारणले रोकिएको अध्ययन यात्रालाई उनले फेरि सुरु गर्दै जनसेवा र शिक्षालाई सँगसँगै अघि बढाएका छन्। उनको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई समाजका लागि प्रेरणादायी सन्देश बनेको छ।

वडाध्यक्ष स्याङतानको उल्लेखनीय सफलताप्रति खानीखोला गाउँपालिका ले विशेष सम्मान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेको छ। प्रमुख प्रशासकीय अधिकृत जीवनराज अर्याल सहित गाउँपालिकाका कर्मचारीहरूले कार्यालयमै उनलाई खादा तथा शुभकामनासहित सम्मान गरेका हुन्।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने,“वडाध्यक्ष स्याङतानको सफलताले शिक्षा हासिल गर्न कहिल्यै ढिलो हुँदैन भन्ने सन्देश सम्पूर्ण समाजमा फैलाएको छ। उहाँको आगामी शैक्षिक, सामाजिक र राजनीतिक यात्रा अझ सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।”

एसईई उत्तीर्ण भएपछि वडाध्यक्ष स्याङतानले आफूलाई अझ जिम्मेवार महसुस भएको बताउँदै आगामी दिनमा उच्च शिक्षासमेत निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनको संघर्ष, दृढता र सफलताले शिक्षा अधुरो छोडेका हजारौं व्यक्तिलाई पुनः पढाइतर्फ फर्किन प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय