काठमाडौं । तामाङ भाषाको पहिलो हस्तलिखित पत्रिका ‘म्हेन्दो’ का सम्पादक तथा तामाङ भाषा, साहित्य, संस्कृति र सामाजिक सेवाका अग्रज व्यक्तित्व शेरबहादुर मोक्तान (मोक्तान भाइ म्हेम्हे) को ८६ वर्षको उमेरमा सोमबार भोजपुरस्थित आफ्नै निवासमा निधन भएको छ।
उनको निधनसँगै तामाङ भाषा–साहित्य, संस्कृति तथा सामाजिक आन्दोलनले एक अग्रणी स्रष्टा र अभियन्ता गुमाएको छ। तामाङ भाषा संरक्षण, विकास र प्रवर्द्धनमा उनले पुर्याएको योगदान ऐतिहासिक मानिन्छ।


वि.सं. १९९९ सालमा भोजपुरमा जन्मिएका मोक्तानले माध्यमिक शिक्षा पनि भोजपुरबाट नै पूरा गरेका थिए। विद्यालयमा कक्षा ९ मा अध्ययनरत रहँदा उनले वि.सं. २०१६ साल भदौ १ गते तामाङ भाषाको पहिलो हस्तलिखित अर्धवार्षिक पत्रिका ‘म्हेन्दो’ को सम्पादन गरेका थिए। उनले उक्त पत्रिकाका चार अङ्क सम्पादन गर्दै तामाङ भाषिक पत्रकारिता र साहित्यको प्रारम्भिक इतिहासमा महत्त्वपूर्ण योगदान दिएका थिए।

नेपाली साहित्यमा स्नातक तहसम्म अध्ययन पूरा गरेका मोक्तान वि.सं. २०२२ सालदेखि भूमि सुधार कार्यालयअन्तर्गत सहकारी अधिकृतका रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए। सेवाका क्रममा उनले सिन्धुपाल्चोकको अन्तरबुङसहित विभिन्न तामाङ बस्तीहरूको अध्ययन–अनुसन्धान गरेका थिए। यही अनुभवका आधारमा उनले तामाङ समुदायको इतिहास, संस्कृति र जीवनशैली समेटिएको महत्त्वपूर्ण पाण्डुलिपि ‘उठानदेखि बैठानसम्म’ तयार गरेका थिए।
तामाङ वाङ्मयमा विशिष्ट योगदान पुर्याएबापत उनी ‘लास्सो पुरस्कार’ बाट सम्मानित भएका थिए। उनका प्रकाशित कृतिहरूमध्ये ‘उठानदेखि : तामाङ जाति एक परिचय’ (भाग–१), ‘स्मृति र विस्मृतिका टाउकाहरू’, ‘मेरा भूतकालीन वक्तव्यहरू’ (कविता), ‘यम्बुला क्याप्सु छे’ (खण्डकाव्य) तथा ‘संक्षिप्त बुद्ध महिमा’ (खण्डकाव्य) विशेष चर्चित छन्।
जीवनको अन्तिम समयसम्म उनी धर्म, संस्कृति, भाषा–साहित्य तथा सामाजिक सेवामा सक्रिय रहे। त्रिवेणी साहित्य समाज, नेपाल तामाङ बुद्धिष्ट एशोसियसन, नेपाल तामाङ घेदुङ, बुद्धिष्ट समाज तथा विश्व शान्ति गुम्बा निर्माण समितिलगायत विभिन्न संस्थामा आबद्ध रही उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
मोक्तान भाइ म्हेम्हेको निधनले तामाङ भाषा, साहित्य, संस्कृति र पहिचानको संरक्षण अभियानमा अपूरणीय क्षति पुगेको छ। तामाङ भाषा र वाङ्मयको संरक्षण तथा विकासमा उनले पुर्याएको योगदान सधैँ स्मरणीय रहने विश्वास गरिएको छ।










