काठमाडौं । गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्तीस्थित छ्योर्तेन टासी तामाङ गुम्बाबाट नवराज तामाङ (निमा लामा) हराएको विषयलाई लिएर संघीय संसद् प्रतिनिधिसभामा सांसद राजेन्द्र राईले दिएको अभिव्यक्तिप्रति गुम्बाले आपत्ति जनाएको छ।

गुम्बाका अध्यक्ष हरिबहादुर बल, महासचिव हिराबहादुर लामा र पञ्चवीर तामाङ (साङ्गे लामा)ले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्रमार्फत सांसद राईको अभिव्यक्तिले गुम्बा तथा समग्र बौद्ध धर्मावलम्बीप्रति गलत धारणा सिर्जना हुन सक्ने भन्दै आपत्ति जनाइएको हो।

गुम्बाका पदाधिकारीका अनुसार २०८३ साल श्रावण २५ गते प्रतिनिधिसभाको बैठकमा सांसद राईले बौद्ध गुम्बाहरूमा ‘भोग दिने चलन’ रहेको आशयको अभिव्यक्ति दिएका थिए। कुनै निश्चित घटना वा व्यक्तिसँग जोडिएको विषयलाई आधार बनाएर सम्पूर्ण बौद्ध गुम्बा तथा धार्मिक परम्परामाथि सामान्यीकरण हुने गरी अभिव्यक्ति दिनु गम्भीर विषय भएको गुम्बाको भनाइ छ।

गुम्बाका अनुसार नवराज तामाङ करिब ६ महिनादेखि गुम्बामा लामा अध्ययनका लागि बस्दै आएका थिए। २०८३ साल असार २३ गते दिउँसो करिब ४ बजे ‘बौद्धमा जाने’ भन्दै गुम्बाबाट निस्किएपछि उनी सम्पर्कविहीन भएको गुम्बाले जनाएको छ।

त्यसपछि उनको खोजीका लागि परिवार तथा सम्बन्धित निकायसँग समन्वय गरिएको गुम्बाको भनाइ छ।

ध्यानाकर्षणपत्रमा ‘अहिंसा परमो धर्म’ लगायतका बौद्ध धार्मिक मान्यताको गलत अर्थ लाग्ने गरी अभिव्यक्ति आएको भन्दै त्यसले बौद्ध धर्मावलम्बीहरूको भावनामा असर परेको उल्लेख गरिएको छ।

गुम्बाले विषयवस्तुको पूर्ण अध्ययन तथा तथ्यको पुष्टि नगरी गरिएको अभिव्यक्तिले बौद्ध धर्म, गुम्बा र धार्मिक अभ्यासप्रति गलत सन्देश जान सक्ने जनाएको छ। यस्तो अभिव्यक्तिले सामुदायिक सद्भावमा समेत असर पर्न सक्ने भन्दै सांसद राईलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन र प्रतिनिधिसभामै क्षमायाचना गर्न आग्रह गरिएको छ।

गुम्बाले नवराज तामाङ हराएको घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ। सांसद राईको अभिव्यक्तिका कारण सिर्जना भएको भ्रम अन्त्य गर्न आवश्यक पहल गरिदिन पनि गुम्बाले अनुरोध गरेको छ।

यसैबीच, धार्मिक अभियन्ता टेकराज तामाङले बुद्ध जन्मभूमि नेपालमै बौद्ध धर्म र धार्मिक संस्थामाथि संसद्को गरिमामय सदनबाट प्रश्न उठ्ने गरी अभिव्यक्ति आउनु गम्भीर र चिन्ताजनक विषय भएको बताएका छन्।

उनले कुनै एउटा घटना, विवाद वा आरोपको अनुसन्धान नगरी त्यसलाई सम्पूर्ण बौद्ध समुदायको धार्मिक अभ्याससँग जोडेर प्रस्तुत गर्दा विश्वभरका बौद्धमार्गीमा गलत सन्देश जान सक्ने बताए।

“यो केवल बौद्ध समुदायको भावनामा चोट पुर्‍याउने विषय होइन, बुद्ध जन्मभूमिका रूपमा नेपालको धार्मिक पहिचान र गरिमासँग पनि जोडिएको विषय हो,” तामाङले भने।

संसद्जस्तो जिम्मेवार स्थानमा बोलिने शब्दले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा समेत प्रभाव पार्ने भएकाले धार्मिक तथा सांस्कृतिक विषयमा तथ्यको पुष्टि गरेर मात्रै धारणा राख्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय