रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा जिप सडकबाट करिब १०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
कोटगाउँबाट सिम्लीतर्फ आउँदै गरेको लु.१ च. ६०२९ नम्बरको डबल क्याप बलेरो जिप आइतबार बिहान करिब ८ः४५ बजे वडा कार्यालय नजिकै सिम्ली–दुली जोड्ने भित्री सडकखण्डबाट करिब १०० मिटर तल खसेको हो।


दुर्घटनामा जिप चालक रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ रुघाका अन्दाजी २८ वर्षीय सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की अन्दाजी १६ वर्षीया प्रेम कला पुनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिममा उपचारका क्रममा दिउँसो १२ बजे मृत्यु भएको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिम्लीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट समेत प्रहरी टोली खटाइएको थियो।
प्रहरीका अनुसार दुर्घटनामा घाइतेमध्ये ११ जनालाई बिहान करिब ९ः३० बजे जिल्ला अस्पताल सल्ले पठाइएको थियो भने थप तीन जनालाई बिहान ९ः५० बजे सानीभेरी गाउँपालिकास्थित अस्पताल छोटेबगर पठाइएको थियो।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतस्थित कालागाउँ रिफर गरिएको छ। बाँकी दुई गम्भीर घाइतेलाई समेत थप उपचारका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घाइतेको विवरण
- बलबहादुर पुन, ३८ वर्ष — अवस्था मध्यम, सुर्खेत रिफर।
- कौशिला पुन मगर, ५० वर्ष — अवस्था मध्यम, छोटेबगरमा उपचाररत।
- अन्जना पुन, २० वर्ष — अवस्था गम्भीर, छोटेबगरमा उपचाररत।
- बृमि खत्री, ५० वर्ष — अवस्था मध्यम, छोटेबगरमा उपचाररत।
- बिबिशा पुन मगर, अन्दाजी १५ वर्ष — अवस्था मध्यम, छोटेबगरमा उपचाररत।
- खिमला पुन, १५ वर्ष — अवस्था मध्यम, छोटेबगरमा उपचाररत।
- विशाल बि.क., अन्दाजी १५ वर्ष — अवस्था गम्भीर, छोटेबगरमा उपचाररत।
- शिसिर पुन मगर, अन्दाजी ९ वर्ष — अवस्था मध्यम, छोटेबगरमा उपचाररत।
- रमेश कुसारी, अन्दाजी १० वर्ष — अवस्था सामान्य, छोटेबगरमा उपचाररत।
- पूर्णबहादुर जैसी, १५ वर्ष — अवस्था मध्यम, सुर्खेत रिफर।
- रिता पुन मगर, २० वर्ष — अवस्था मध्यम, छोटेबगरमा उपचाररत।
- ज्ञानु पुन मगर, अन्दाजी १७ वर्ष — अवस्था गम्भीर, छोटेबगरमा उपचाररत।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।










