काडमाडौं । हजुरलाई नमस्कार परोपकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा शनिबार काठमाडौँको बाफलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त अवसरमा २७ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रकी नेत्री एवं पूर्वमन्त्री कमला रोकाले रगत अभाव भएका बेलामा रक्तदान कार्यक्रम राखेर हजुरलाई नमस्कार परोपकारी संस्थाले राम्रो काम गरेको बताईन्। “रक्तदान पुण्य काम हो, तपाईँले गरेको रक्तदानले अरु कसैको ज्यान जोगिन सक्छ, पुण्य काममा सबै सहभागी बनौँ”, उनले भनिन्।
उनले मुलुकमा समाजसेवा गर्ने व्यक्तिको अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रम गरेर संस्थाले राम्रो र उदाहरणीय काम गरेको बताईन्। समाजसेवी एवं संस्थाका अध्यक्ष ताराबहादुर कुँवरले परोपकारी संस्थाले चक्रपथ सरसफाइ अभियान, बागमती सरसफाइ अभियान, रक्तदानलगायतका सामाजिक काम गर्दै आएको जानकारी दिए ।
“हजुरलाई नमस्कार परोपकारी संस्थाले पहिलो चरणमा लगातार १५ हप्ता रक्तदान कार्यक्रम गरेका थियौँ, दोस्रो चरणको रक्तदान कार्यक्रम गतहप्ताबाट सुरु गरेका छौँ”, उनले भने । सो संस्थाले अनाथ तथा असाहय व्यक्तिलाई समेत सहयोग गर्दै आइरहेको छ ।