काभ्रेको व्यपारीक नगरी बनेपामा २०२४ सालमा स्थापना भएको जिल्ला सहकारी संघ लि. २६ औँ साधारणसभाको संघारमा छ । बनेपाको मुख्य कार्यालयसँगै दुईवटा सेवा केन्द्रबाट आफ्ना गतिविधि अगाडी बढाईरहेका सहकारी संघको पुँजी करिब ४० करोड बरावर रहेको छ । संघमा ५५० सहकारी संस्था आबद्ध छन् । अहिले आफ्नै ४ रोपनी १ आना जग्गाको करिव ६२ सय स्क्वायर फिट जग्गामा प्रशासनिकसँगै तरकारी तथा फलफूल बजारको लागि भवन निर्माणको कार्य दशै अगाडी नै सम्पन्न गर्ने गरी जुटिरहेको छ । वितग केही दशकदेखि निरन्तर सहकारी अभियनमा लागि रहेका सहकारी अभियन्ता दिलिप शर्मा अहिले यस संघको अध्यक्ष हुनुहुन्छ । सहकारीको वर्तमान अवस्था, आर्थिक मन्दी, संघको सिइओ नियुक्ति तथा समिति बारे आदिको सेरोफेरोमा रहेर ग्लोबल खबरका प्रधान सम्पदाक इकमान लामाले संघको अध्यक्ष शर्मासँग गरेको कुराकानी :

स्थानीय सरकार सहकारी दायित्व तथा जिम्मेवारीहरु पुरा गर्न अग्रसर देखिएन

जिल्ला सहकारी संघको बारेमा बताई दिनुस् न ?

जिल्ला सहकारी संघ लि. २०२४ सालमा दर्ता भएको जिल्ला भित्रका सहकारी संस्था÷संघहरुको छाता संघ हो । जिल्लामा रहेका १४९५ वटा सहकारीहरुको अभिभावकीय रुपमा यसलाई हेरिन्छ । जिल्लामा रहेका सहकारी संस्थाहरुको प्रवद्र्धन, विकास र विस्तार गर्ने कार्यमा संघको भूमिका महत्वपूर्ण रहन्छ र सोहि अनुसार विविध कार्यहरु सहित संघ अगाडि बढीरहेको छ । ५५० वटा सहकारी संघ÷संस्थाहरु आबद्ध रहेको यस संघ दुई वटा सेवा केन्द्र सहित आफ्ना गतिविधिहरु अगाडि बढाइरहेको छ । संघमा १५ जनाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति ३ र विभिन्न १० वटा उप समितिहरु रहेका छन् भने अभियानको नेतृत्व गर्दै एकताबद्ध भई आफ्ना गतिविधिहरु सञ्चालन गर्दै संघ अगाडि बढीरहेको छ । संघले पछिल्लो अवस्थामा विविध कार्यक्रमहरु सहकारी अभियानका बीचमा गर्दै आइरहेको छ ।

करिव ४० करोड बरावरको आफ्नो पूँजी निर्माण गरी संघमा रहेको हाल सविक गर्दाको ४ रोपनी १ आना जग्गामा करिव ६२ सय स्क्वायर फिट जग्गामा तरकारी तथा फलफूल बजार निर्माण गर्नका लागि भवन निर्माण अन्तिम चरणमा पु¥याई रहेको छ । अण्डरग्राउण्ड पार्किङ सहितको ३ ढलान गरेर दीर्घकालिन योजनाहरु सहित संघका गतिविधिहरुलाई सहकारी अभियानमा उल्लेख्य उपलब्धिहरु हासिल गर्न सकेको छ । यसै आर्थिक बर्षमा जिल्लामा तरकारी तथा फलफूलको जिल्ला बजार सञ्चालन हुने र प्याकेजिङ र ग्रेडिङ सहितको तरकारी उपत्यका हितका बजारमा उपभोक्तहरुका बीचमा सस्तो र गुणस्तरीय सामानका लागि तयारी गरिरहेको छ । स्ट्रक्चर डिजाइन अनुसार अर्को दुई तल्ला थप गर्नका लागि बिड नोटिस जारी भएको छ । बजारमा रहेका सहकारी, बैंक तथा बित्तिय संस्थाहरुका कार्यालयहरुका लागि स्थान दिने गरी संघको आम्दानीमा समेत बृद्धि गर्ने गरी योजना बनाइएको छ । सामानहरु ढुवानीका लागि २ वटा गाडिहरु संघलाई नेपाल सरकार भूमिव्यवस्था सहकारी तथा गरिवी निर्माण मन्त्रालय, सहकारी बजार विकास कार्यक्रमले उपलब्ध गराएको छ ।

काभ्रेमा सहकारीको पछिल्लो अवस्था कस्तो पाउनु हुन्छ ?

काभ्रेपलाञ्चोक जिल्लामा १४९५ वटा सहकारीहरु रहेका छन् । ७ वटा बिषयगत संघहरु रहेर अगाडि बढीरहेको सहकारीको अभियानमा ३ लाख ८३ हजार शेयर सदस्यहरु आबद्ध भएका छन् । यो संख्या भनेको जिल्लाको जनसंख्याको हिसाबले बढी हो । बिशेषगरी शहरी क्षेत्रमा सहकारीहरुको संख्यात्मक रुपले निकै बढी देखिन्छ । हालै देशमा देखिएको आर्थिक मन्दि हेर्दा उपत्यका तथा आसपासका जिल्लाहरुमा सहकारीहरुमा देखिएको समस्याहरु भन्दा आजका दिनसम्म खासै समस्या देखिएका छैनन् भने सिंगो सहकारी अभियानले राम्रो पक्षको रुपमा लिनु पर्दछ । यद्यपी केहि सहकारी संस्थामा समस्याहरु रहेका छन् तर यत्रो ठूलो अभियानमा केहि–केहि नीति, विधि र पद्दती अनुसार संस्थाहरु सञ्चालन नभएकाहरुमा छुटपुट समस्या देखिए भने अचम्म मान्नु पर्दैन भन्ने लाग्छ । समुदायमा आधारित भई बचत तथा ऋण लगायतका कार्यहरु सञ्चालन गर्ने सहकारीहरु प्रयाप्त मात्रामा जिल्लाभित्र रहेका छन् । यस्ता संस्थाले सँधै शेयर सदस्यहरुको हितमा कार्य गरिरहेका छन् र शेयर सदस्यहरुको आफ्नो गर्जो टार्ने खालका कार्यहरु गर्दै आएका छन् ।

स्थानीय तहले सहकारीलाई हेर्ने दृष्टिकोण विगतमा र अहिले कस्तो पाउनु हुन्छ ?

राज्यको पुर्नसंरचना अनुसार तीन तहको सरकार भए पश्चात सहकारीको क्षेत्रको अधिकार पनि तीन तहमा पुगेको छ । संघ÷संस्था दर्ता, नियमन, गठन तथा खारेजी, अनुगमन र नियमन समेत स्थानीय तहमा पुगेपछि आफ्नो दायित्व तथा जिम्मेवारीहरु पुरा गर्नका लागि स्थानीय सरकार खासै अग्रसर भएको देखिएको छैन । राज्यको तीन खम्बामध्ये एक बलियो शक्तिको रुपमा सहकारीलाई संविधानमै राखिएता पनि स्थानीय तहमा यसको व्यवस्थापन गर्न कठिनाई भइरहेको मैले देखेको छु ।

सहकारी संस्था सञ्चालनका लागि निर्माण गर्नुपर्ने ऐन, नियमावली, कार्यविधि आदि समेत निर्माण भएको देखिएको छैैन भने कार्यान्वयनका लागि कर्मचारी व्यवस्थापन समेत गर्नका लागि कठिनाई भइरहेको जस्तो लाग्छ । नीतिगत रुपमा ऐन, नियमावली नै नभएपछि नियमन र अनुगमन नै कमजोर हुने त भै हाल्यो । सहकारीको दर्शन, मूल्य, मान्यता र सञ्चालनका अवस्था बारे अनबिज्ञ हुँदा जसले जसरी संस्था सञ्चालन गरेपनि हुने अवस्थामा रहेको छन् भने बिना स्विकृत सहकारीहरु सञ्चालनमा रहेका छन् । जसका कारण समुदायमा आधारित भएर चलेका सहकारी संस्थाहरुलाई समेत प्रत्यक्ष असर पुगेको देखिन्छ ।

सहकारीमा व्याजदर बारे जनगुनासोहरु सुनिन्छ, खासमा व्याजदरको सान्दर्भिक कति हुनु पर्ने हो ?

सहकारी संस्थाहरु सामुदाय हितका लागि सञ्चालन हुनु पर्दछ । बैंक र सहकारी बीच कहिल्यै तुलना हुनै सक्दैन । अहिले देशमा देखिएको आर्थिक मन्दि लगायतका समस्याहरु आइरहँदा नेपाल राष्ट्र बैंकले बैंकहरुका लागि समय–समयमा गरेका नीतिहरुका कारण दिन प्रतिदिन बजारमा ब्याजका दरहरु परिवर्तन भइरहन्छन् । तर सहकारी क्षेत्रमा राज्यका शिर्षस्थ निकायहरुले ब्यादरका सन्दर्भमा निर्णय गर्न बर्षौ लगाइदिँदा सहकारी क्षेत्रको पूँजी बैंकिङ क्षेत्रमा पलायन भएको देखिन्छ । विभिन्न बिज्ञापन, प्रतिष्पर्धा र योजना सहित बैंकहरु अगाडि बढीरहँदा आफ्ना शेयर सदस्यहरुका लागि सहकारीले कुनै कार्य गर्न सकेका छैनन् । सहकारीहरुले कुनैपनि खालका बिज्ञापन गर्न पाउँदैनन् र गर्नु पनि हुदैन भन्ने मान्या छ ।

सहकारी बिभागद्धारा लगाइदिएको ब्याजदरको सिलिङका आधारमा चलेका सहकारी थुप्रै छन् तर केहि सहकारी संस्थाहरुभित्र समस्या समेत रहेका छन् १६ प्रतिशतमा लगाइएको सिमालाई वेवास्ता गर्दै बचतमा नै बजारबाट सो भन्दा माथि ब्याजदरमा रकम संकलन गरेको समेत सुन्न पाईन्छ । यो भनेको नीति विपरित नै हो । तर बैंक बित्तिय संस्थामा ब्याजदरमा परिमार्जन गर्दा सहकारी क्षेत्रलाई पनि व्यवस्था गर्दै लानु पर्छ । देशको अर्थ तन्त्रको ठूलो हिस्सा ओगटेको सहकारी क्षेत्रलाई पनि नियमनकारी निकायहरुले नीतिमा नै व्यवस्था गरेर अवस्था अनुसारको ब्याजदरहरु समय समयमा परिमार्जन चाँहि गर्नु पर्दछ ।

पछिल्लो समय सहकारीहरु नीति, विधि र सिद्धान्त अनुसार चलिरहेको छैन भन्ने सुनिन्छ नि ?

हाल बजारमा देखिएको आर्थिक मन्दिका कारण विभिन्न क्षेत्रहरुमा समस्या देखिएका छन् । केहि सहकारी संस्थाहरुमा आएको समस्याका कारण सिंगो सहकारी क्षेत्र यसको मारबाट गुज्रन परिरहेको छ । सहकारी संस्था सञ्चालनका मूल्य, मान्यता, दर्शन सिद्धान्त, नीति निर्माण, यसका विधिहरु बनाएर सञ्चालन भएका सहकारी संसथाहरुमा कुनैपनि समस्या रहेको देखिदैन । सहकारीलाई कम्पनी वा प्रा. लि को जस्तो गरी एकल निर्णयमा पारिवारिक बनाई सञ्चालनमा रहेका केहि सहकारी संस्थाका कारण सिंगो सहकारी बदनाम हुन पुगेको छ । सहकारीले आफ्ना शेयर सदस्यहरुका हितका लागि गरेका सयौं उदारहरणहरु हाम्रा सामु छन् ।

शेयर सदस्यहरुको दैनिक समस्याहरु समाधान गरी रोजगारी सिर्जना, आय आर्जन, जीविकोपार्जन आदि चूलो बाल्न सक्ने अवस्थामा पुर्याएका धेरै राम्रा कामहरु सहकारीले गरेका छन् । यस्ता सहकारीहरु नीति, विधि, सिद्धान्त अनुसार नै चलेका छन् । हामीले हाम्रा राम्रा राम्रा गरेका कामहरुलाई उजागर गर्न नसकेका कारण विभिन्न खालका आरोपहरु खेप्न परेको मात्र हो । नीति विधि भित्र चल्न नसकेका सहकारी स.स्थाहरुलाई समयमा नै अनुगमन, नियमन गरेर घेरा भित्र ल्याउने काम राज्यको पनि हो । सहकारीले राज्यले गर्नुपर्ने धेरै कामहरु गरेको छ । रोजगारी सिर्जना, उल्लेख्य कर प्रदान आर्थिक उपार्जनका कार्यहरु गरेर राज्यलाई समेत सहयोग गर्दै आइरहेको छ ।

खासगरी सहकारीलाई नीति विधि बाहिर घरजग्गा किनबेच लगायतका अबैध काम गरिरहेको आरोप लाग्ने गरेको छ नि ?

सहकारीले उत्पदानमा बृद्धि गर्ने पहिलो शर्त हो । शेयरसदस्यहरुलाई समृद्ध बनाउने, खुसी राख्ने, मनमा शान्त हुने वातावरण बनाउने आदि काम गर्नु पर्दछ । पछिल्लो समय सहकारी केही समस्याहरु देखिए एक अर्कामा प्रतिस्पर्धाको भावना सिर्जना हुन पुग्यो । कसले बढी लाभांश वितरण गर्ने भन्नेमा होडबाजी नै देखियो । जसका कारण सहकारीहरुले थारै समयमा बढी भन्दा बढी आम्दानी गर्ने भन्ने लोभमा घरजग्गा व्यवसायमा लगानी गरेको देखिन्छ । देशमा आर्थिक मन्दिको अवस्था सिर्जना हुँदा सहकारी संस्थाका धेरै रकमहरु सोहि क्षेत्रमा लगानी भएका कारण अहिले समस्यामा देखिएको छ । शेयर सदस्यहरुको अवस्था वा कारोेवार नगरी आवश्यकतालाई आधार मानेर गरिएका स्थानमा यो समस्या देखिदैन तर ठूलो रकम, एकै ब्यक्तिहरुलाई वा सिमित ब्यक्तिहरु लक्षित गरी लगानी गर्दै जाँदा वर्तमान अवस्था सिर्जना भएको देखिन्छ ।

जिल्लाकै सन्दर्भमा केही सहकारी मिटरव्याज धन्दामा लागेको आरोपमा मुछिएको छ, यसमा तपाईको धारण के छ ?

यदि सहकारी संस्थाले मिटर ब्याजी जस्तो कार्यमा संलग्न भएको हो भने सिंगो सहकारी अभियानको लागि लज्जाको बिषय नै हो । यो भन्दा अनैतिक काम केही हुन सक्दैन । शेयर सदस्यहरुले तरकारी, मेलापात, गेडागुडी, अन्नपात दुध, घिउ बेचेर ज्यालादारी गरेर खाइ नखाई गरेर बचत गरेको पैसा एउटा सहकारी संस्थामा राखेको पैसाको दुरुपयोग कसैले गर्नु हुदैन । यो अपराध नै हो । त्यसैले नियमनकारी निकयबाट अनुगमन, नियमन समय समयमा हुनुपर्दछ भन्ने धारण मैले समय समयमा सार्वजनिक समेत गर्ने गरेको छु । यस्ता बिषय सहि वा सत्य हो भने कानूनी कार्यवाही हुनु अनिवार्य छ ।

सहकारीको सख्यात्मक बृद्धिमात्रै भयो भन्ने छ, गुणत्मक बृद्धि कसरी गराउन सकिन्छ ? यसमा जिल्ला सहकारी संघको कुनै योजना छ ?
हो, नेपाल जस्तो सानो मूलुकमा लगभग ३० हजारको हाराहारीमा सहकारी संस्थाहरु रहनु भनेको बढी नै हो भन्ने मलाई पनि लाग्दछ । जिल्लामा मात्र डिभिजन सहकारी कार्यालयले १३ वटा स्थानीय तहलाई बुझाएको विवरणमा १४९५ वटा सहकारीहरु रहेको तथ्यांकमा देखिन्छ । बनेपा नगरपालिकामा मात्र २२० भन्दा बढी सहकारी संस्थाहरु रहेको देखिन्छ । जिल्लाको ब्यापरिक केन्द्र भएकाले पनि यो संख्या अधिक रहेको हुनसक्छ । तर सहकारी संस्थाको स्थापना भनेको अल्प संख्यक, उपेक्षित, उत्पिडित बन्चितीकरणमा परेका समुदाय, गरिवीको रेखामुनी रहेका ब्यक्तिहरुको जीवन जीउन सजिलो हुने गरी कार्यहरु सञ्चालन हुनुपर्दछ भन्ने नै हो । यहाँ त सहकारीहरु जहाँ पैसा त्यहाँ सहकारी जस्तो देखिएको छ । यसको संख्या बढी नै भएको हो भन्ने मलाइ पनि महसुश भएको छ ।

यसको गुणत्मक बृद्धिका लागि एक स्थानबाट कोशिस गरेर केहि हुँदैन भन्ने लाग्छ । यसको लागि सरोकारवाला निकायहरु सबै एकजुट भएर नियम÷नीति बनाई सुरु गर्नुपर्दछ । जिल्ला सहकारी संघबाट यसका लागि एकिकरणमा जोड दिने र नीति, विधि, कार्यविधि निर्माण सहयोग गर्ने, क्षमता बृद्धिका लािग तालिम सञ्चालन गर्ने समय समयमा अनुगमन गर्ने जस्ता कार्यहरु गर्दै आएका छौं र आगामी दिनहरुमा पनि गर्दै जानेछौं ।

सहकारी छाता संगठन जिल्ला सहकारी संघ कसरी अघि बढिरहेको छ ?

जिल्ला सहकारी संघ लि.ले सहकारीको विकास, प्रवद्र्धन र विस्तारका लागि प्रत्येक बर्ष विभिन्न खालका योजनाहरु कार्यान्वयन गर्दै आइरहेको छ । क्षमता विकासका कार्यक्रम, नीति निर्माण, कार्यविधि निर्माण आदि जस्ता कार्यहरु गर्दै आइरहेको छ भने स्थानीय पालिकाहरुमा समन्वय गर्दै सहकारीका क्षेत्रमा बजेट विनियोजनाका लागि पत्राचार गर्ने जस्ता कार्य गर्दै आइरहेको छ । समग्र जिल्लाको सहकारी संस्थाहरुको तथ्यांक अद्यावधिक गर्ने, प्रकाशन गर्ने प्रविधिमैत्रीका लागि सहजिकरणका कार्यहरु समेत जिल्ला सहकारी संघले गर्दै आइरहेको छ भने जिल्लामा तरकारी तथा फलफूलको जिल्ला बजार सञ्चालन गरी उत्पादन र बजारीकरण गर्ने कार्यहरु समेत गर्दै आइरहेको छ ।

खासमा सहकारीले के उत्पादन गर्ने र बजार कसरी सिर्जना गर्नु पर्छ जस्तो लाग्छ ?

सहकारी संस्थाहरुले गर्ने भनेकै स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरण र आम्दानीमा बृद्धिको कार्यहरु सञ्चालन गरी शेयरसदस्यहरुको जीविनस्तर उकास्ने कार्य नै हो । जिल्लामा रहेका १३ वटा पालिकाहरु नै फरक–फरक खालका हावापानी रहेका छन् सबै पालिकाहरुमा केहि न केहि फरक खालका उत्पादनहरु हुन सक्छन् । यस्ता उत्पादित हुने वस्तुहरुको उत्पादनमा बृद्धिका योजनाहरु बनाई बजारसम्म पु¥याई शेयर सदस्यहरुको जीवनमा परिवर्तन ल्याउन सक्नुपर्दछ । जसबाट किसानहरु लाभान्वित मात्र नभई सहकारीप्रतिको विश्वास सिर्जना हुन जान्छ भने रोजगारी र जीविकोपार्जन समेत हुन जान्छ ।

जिल्ला सहकारी संघको आफ्नै भवन निमार्णको कार्य के भइरहेको छ ?

जिल्ला सहकारी संघ लि. को भवन निर्माणको कार्य करिब अन्तिम अवस्थामा पुगेको छ । लगभग दशै अगावै सम्पन्न हुने गरी कार्यहरु भइरहेका छन् । अण्डरग्राउण्ड पार्किङ सहितको ३ ढलान सहितको पहिलो चरणको कार्य फाइनल भइरहेकोमा दोश्रो चरणको २ ढलान सहितको कार्य सुरु हुने अवस्थामा छ । जिल्लाभित्र रहेका सबै सहकारी संस्थाहरुको आकर्षणको केन्द्रबिन्दु रहने गरी कार्यहरु अगाडि बढीरहेको छ । भवनमा जिल्लास्तरीय तरकारी तथा फलफूलको जिल्ला बजार सञ्चालन हुनेछ । काठमाण्डौ जिल्ला, भक्तपुर र ललितपुर जिल्लाको जनघनत्वलाई सहयोग पुग्ने गरी सस्तो र राम्रा तरकारीहरु बजार पु¥याइने गरी कार्यहरु हुनेछ भने सशुल्क पार्किङको समेत व्यवस्थापन हुनेछ । माथि रहेका अन्य तल्लाहरुमा जिल्ला सहकारी संघ लि. को प्रशासनिक भवन हुनेछ भने बजार भित्रका विभिन्न सहकारी संस्थाहरुका लागि भाडामा स्थान उपलब्ध गराउन जिल्ला सहकारी संघ लि. सक्षम हुनेछ । जसबाट संघको नियमित आम्दानीमा बृद्धि हुनेछ । र दीगो रुपमा संघ सक्षम संघको रुपमा विकसित हुनेछ ।

जिल्ला सहकारी संघको सिइओ (CEO) नियुक्ती पक्रिया, समितिको बारेमा सञ्चार मध्यममा आएको विषय के हो ?

जिल्ला सहकारी संघ लि. को आफ्नै मानव शंसाधन नीति रहेको छ । नीतिलाई आधार मान्दै सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको सूचना प्रकाशन गरेको हो । पहिलो पटकको सूचनामा प्रर्याप्त निवेदन प्राप्त नभएपछि दोश्रो पटक समेत सूचना प्रकाशन गरेपछि ३ जनाको निवेदन प्राप्त भएपछि संघमा रहेको पदपूर्ती उप–समितिले आवश्यक प्रकृया पुरा गरी सञ्चालक समितिको बैठक समक्ष सिफरिस गरिएको हो । यसमा द्धिविधा हुनुपर्ने बिषयहरु केही नरहेको विश्वास दिलाउन चाहन्छु ।

अन्तमा के भन्नु छ की ?

जिल्ला सहकारी संघ लि. को बारेमा सामाजिक सञ्जाल, पत्रपत्रिका लगायतमा जे जे विषयहरु सार्वजनिक भएका छन् उक्त बिषयहरुका बारेमा सहकारी अभियानमा जोडिनु भएका जो कोही संघमा आबद्ध अभियानका ब्यक्तित्वहरु स्वयंम् आएर यथार्थ रुपमा बुझ्नका लागि अनुरोध गर्दछु । संघ पारदर्शी जवाफदेही रुपले आफ्नो जिम्मेवारी सहित एकताबद्ध रुपले कार्यहरु अगाडि बढाइरहेको छ । यसमा कुनै शंका नराख्न र विश्वासका साथ अगाडि बढ्न सबै सम्बद्ध सरोकारवाला संस्थाहरुमा हार्दिक अनुरोध गर्दछु । कुनैपनि खालका प्रमाणित हुने गतिविधिहरु नियोजित रुपमा गरिएको भएको पाइएमा भेटिएमा अभियानको तर्फबाट जे जस्तो कार्बाही भोग्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्न चाहन्छु । संघको हितमा आर्थिक कारोबार गर्दै सिंगो सहकारी अभियानलाई एकताबद्ध बनाई अभियानलाई दरिलो बनाउन अनुरोध गर्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय