काभ्रे । कोखाजोर जलाशययुक्त जलविद्युत आयोजनाको प्रभाव मूल्याङ्कन तयार गर्ने क्रममा सार्वजनिक सुनुवाइको काम भइरहेको छ ।
विद्युत विकास विभागले आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कनको लागि सार्वजनिक सुनुवाई गर्ने सूचना सार्वजनिक गरेर सुनुवाइको काम भइरहेको छ । काभ्रे, सिन्धुली र मकवानपुर पहिचान भएको ११६ मेगावाट क्षमताको कोखाजोर जलाशययुक्त जलविद्युत आयोजना हो ।


असोज १ गतेदेखि ६ गतेसम्म प्रभावित विभिन्न स्थानमा सार्वजनिक सुनुवाईको काम भइरहेको विद्युत विकास विभागका सिनियर डिभिजनल इन्जिनियर (सीडीइ) गोपीप्रसाद शाहले बताए।
कम्पनीले ड्राफ्ट डिजाइन तयार पारेको छ। प्रारम्भिक अध्ययन अनुसार रक फिल ड्याम निर्माण हुनेछ। आयोजनाको अधिकतम हेड २३६.३५ मिटर र न्युनतम हेड २००.११ मिटर रहेको छ। वार्षिक ३४४.२६ गिगावाट आवर विद्युत शक्ति उत्पादन हुनेछ।
आयोजना सिन्धुलीको हरिहरपुर गाउँपालिका १,३ र ५ र मरिण गाउँपालिका १, काभ्रेपालान्चोकको महाभारत गाउँपालिका १,६,८ र खानीखोला गाउँपालिका ४ र ५ र मकवानपुरको बागमती गाउँपालिका १ र ५ मा पर्ने कोखाजोर खोलामा निर्माण हुनेछ।
प्रारम्भिक अध्ययन अनुसार मरिण गाउँपालिकाको केही बस्तीहरु हटाउनुपर्नेछ। महाभारत गाउँपालिका आयोजनाको ड्याम साइट पर्छ। हरिहरपुरगढी गाउँपालिका विद्युत आयोजनाको पहुँचमार्ग (एक्सेस रोड), टनेल पर्छ।
अध्ययनको समय ६ महिना थप
काभ्रे, सिन्धुली र मकवानपुर पहिचान भएको ११६ मेगावाटको कोखाजोर जलाशययुक्त जलविद्युत आयोजना अध्ययनको जिम्मा पाएको कम्पनीलाई ६ महिना समय थपिने भएको छ।
कोरोनाका कारण काम हुन नसकेको भन्दै विद्युत विकास विभागले सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) प्रतिवेदनको ठेक्का पाएको कम्पनीलाई समय थपिदिन लागेको हो।
निर्धारित समयमा आयोजनाको काम नसकिने भएपछि समय थप गर्न लागेको विभागका अधिकारीहरुको भनाई छ। २०२० मा ३० महिनामा सक्ने गरि आयोजना अध्ययनको जिम्मा इनर्जी इन्फ्राटेक प्रालि(भारत) र जीइओसीई कन्सल्ट्यान्ट प्रालि (नेपाल)को जेभीले पाएको छ।
सम्भाव्यताको एक चरणको ड्राफ्ट तयार भएको छ भने इआईएको काम बल्ल सुरु हुँदैछ। असोज १ गतेदेखि ६ गतेसम्म प्रभावित विभिन्न स्थानमा सार्वजनिक सुनुवाई गर्न लागिएको विद्युत विकास विभागका सिनियर डिभिजनल इन्जिनियर (सीडीइ) गोपीप्रसाद शाहले बताए। उनका अनुसार आगामी ६ महिनामा अध्ययन सक्ने योजना बनेकाले समय थप्न लागिएको हो।










