काभ्रे । प्रतिनिधि सभा २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभा ४ वटा निर्वाचन क्षेत्र रहेको काभ्रेमा यतिबेला चुनावको रौनक छाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि एकातिर सत्ता गठबन्धन र अर्कोतिर एमाले चुनावी मैदानमा छन् । आफूलाई शक्तिशाली भएको बताउने सत्ता गठबन्धन र एमालेका उम्मेदवार बीच हुने प्रतिस्पर्धाबाट आउने नतिजाको जोड घटाउ हुन थालेको छ ।
२०७४ सालको निर्वाचनमा प्रतिनिधि सभाका लागि क्षेत्र नं. १ मा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका गंगा बहादुर दोङ (बमध्वज) ४३ हजार ६३१ मत ल्याएर विजयी हुनु भएको थियो । नेपाली कांग्रेसका तीर्थ लामाले ३९ हजार ६०५ मत ल्याउनु भएको थियो । क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका रत्न प्रसाद ढकाल २५ हजार १०६ मत ल्याएर विजयी हुनु भएको थियो । नेपाली कांग्रेसका चन्द्र तामाङले १७ हजार ८५५ मत ल्याउनु भएको थियो । प्रदेशसभा (ख) मा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार एमालेको चन्द्र लामाले २४ हजार ४४७ प्राप्त गरेर विजयी हुनुभएको थियो भने नेपाली कांग्रेसका गणेश लामाले २० हजार २७० मत ल्याउनु भएको थियो ।


त्यसैगरी क्षेत्र नं. २ मा प्रतिनिधि सभाका लागि तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार एमालेका गोकुल प्रसाद बास्कोटा ५४ हजार ४२७ मत ल्याएर विजयी हुनु भएको थियो । नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले ३६ हजार ५७९ मत ल्याउनु भएको थियो । क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार एमालेका लक्ष्मण लम्सालले २७ हजार ६२१ मत प्राप्त गरेर विजयी हुनुभएको थियोे भने नेपाली कांग्रेसका सुन्दरमणि आचार्यले १६ हजार ५८९ मत ल्याउनु भएको थियो । प्रदेशसभा (ख) मा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार एमालेका बसुन्धरा हुमागाइँ २८ हजार ६७७ प्राप्त गरि विजयी हुनुभएको थियोे भने नेपाली कांग्रेस का कन्चन चन्द्र वादेले २१ हजार ७८० मत ल्याउनु भएको थियो ।
२०७४ को निर्वाचनमा क्षेत्र नं. १ को प्रतिनिधि सभामा माओवादी केन्द्रलाई प्रदेश सभा (क) मा माओवादी केन्द्र र (ख) मा एमालेको भाग परेको थियो । क्षेत्र नं. २ मा प्रतिनिधि सभामा एमाले, प्रदेश सभा क र ख एमालेकै भाग परेको थियो । तर यसपालि गठबन्धनबाट क्षेत्र नं. १ मा प्रतिनिधि सभामा माओवादी केन्द्र प्रदेश सभा (क) मा माओवादी केन्द्र र (ख) मा नेपाली कांग्रेसलाई भाग परेको छ । क्षेत्र नं. २ मा प्रतिनिधि सभामा नेपाली कांग्रेस प्रदेश सभा (क) मा एकीकृत समाजवादी र (ख) मा नेपाली कांग्रेसलाई भाग परेको छ ।
क्षेत्र नं. १ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका सुर्यमान दोङ (लालध्वज) र एमालेबाट रेशम लामा बिच चुनावी प्रतिस्पर्धा हुँदैछ । क्षेत्र नं. १ को प्रदेश सभा (क) मा गठबन्धनबाट माओवादी केन्द्रका रत्न प्रसाद ढकाल र एमालेबाट दिलिप तामाङ र (ख) मा नेपाली कांग्रेसका तीर्थ लामा र एमालेबाट चन्द्र लामा बिच चुनावी प्रतिस्पर्धा हुँदैछ ।क्षेत्र नं. २ मा लोकतान्त्रिक-वाम गठबन्धनबाट नेपाली कांग्रेसका शिव प्रसाद हुमागाई र एमालेबाट गोकुल प्रसाद बास्कोटा बिच चुनावी प्रतिस्पर्धा हुँदैछ । क्षेत्र नं. २ को प्रदेश सभा (क) मा गठबन्धनबाट एकीकृत समाजवादीका लक्ष्मण लम्साल र नेकपा एमालेबाट कुमार खकुरेल र (ख) मा गठबन्धनबाट नेपाली कांग्रेसका कञ्चनचन्द्र बादे र एमालेबाट कुमार थापा बिच चुनावी प्रतिस्पर्धा हुँदैछ ।
हालै सम्पन्न भएको स्थानीय तहको नतिजालाई हेर्दा काभ्रेमा नेपाली कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो स्थानमा रहेका छन् । काँग्रेस सात, नेकपा (माओवादी केन्द्र) चार, नेकपा एमाले एक र नेकपा (एकीकृत समाजवादी) एक पालिकास्तरको प्रमुख तथा अध्यक्षमा विजयी भएको थियो ।
काँग्रेसले जिल्लाको बनेपा, पनौती, नमोबुद्ध र पाँचखाल नगरपालिकामा प्रमुख पदमा विजयी हासिल गरेको छ भने रोशी, तेमाल र बेथानचोक गाउँपालिकाको अध्यक्ष पदमा विजयी गरेको थियो । यसैगरी कांग्रेस धुलिखेल र मण्डनदेउपुरमा उपप्रमुख तथा महाभारत, खानीखोला, भुम्लु र चौरीदेउराली गाउँपालिकामा उपाध्यक्ष पदमा विजयी गरेको थियो । नेकपा (माओवादी केन्द्र) खानीखोला, चौरीदेउराली, महाभारत र भुम्लु गाउँपालिकाको अध्यक्ष पदमा र उपप्रमुख पदमा नमोबुद्ध नगरपालिकामा विजयी हासिल गरेको थियो । एमाले प्रमुख पदमा धुलिखेल र उपप्रमुख पदमा बनेपा, पनौती र पाँचखाल नगरपालिकामा विजयी गरेको थियो । नेकपा (एकीकृत समाजवादी) ले भने मण्डनदेउपुर नगरपालिकाको प्रमुख पदमा विजयी हासिल गरेको थियो ।
२०७४ को समानुपातिक मतलाई केलाउँदा प्रतिनिधिसभामा एमालेले ५९ हजार ८१, नेपाली कांग्रेसले ५८ हजार ६५० र माओवादी केन्द्रले २९ हजार ८९ मत ल्याएका थिए । प्रदेशसभामा एमालेले ५६ हजार ३१४, कांग्रेसले ५४ हजार ६७२, माओवादी केन्द्रले २९ हजार १२३ मत ल्याएका थिए ।२०७९ को चुनावसम्म आइपुग्दा एमाले फुटेको छ ।










