काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट कटौती गर्दा वीर अस्पताललाई अक्सिजनको बक्यौता तिर्न मुस्किल परेको छ। बक्यौता भुक्तानी नगरिए अस्पतालमा सप्लाइ गरिने अक्सिजन रोकिने चेतावनीसहितको पत्र शंकर ग्यास कम्पनीले अस्पताललाई पठाएको छ।
पहिलेको भन्दा बजेट कटौती भएर आएपछि अस्पतालले अक्सिजन आपूर्ति गर्दै आइरहेको शंकर ग्यास कम्पनीलाई भुक्तानी दिन सकेको छैन। भुक्तानी बाँकी झन्डै २ करोड पुगेको भन्दै कम्पनीले अस्पताललाई अक्सिजन दिन नसकिने बताएको छ।


अक्सिजन आपूर्ति गरेबापतको रकम नपाएको भन्दै शंकर ग्यास कम्पनीले अक्सिजनको आपूर्ति रोक्ने चेतावनीसहित अस्पताललाई पत्र समेत पठाइसकेको वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेल बताउँछन्।
‘वीर अस्पतालले १ अर्ब ५६ करोड अनुमानित बजेटको माग गर्दे मन्त्रालयमा पेस गरेको थियो। मन्त्रालयले मागिएको भन्दा आधा बढी बजेट कटौती गर्दै ७३ करोड बजेट अस्पताललाई विनियोजन गर्यो। उक्त बजेटले अत्यावश्यक विषयहरुलाई समेट्न नसक्दा यस्तो अवस्था आएको हो,’ डा पौडेलले भने।
अस्पतालको आन्तरिक बजेटको करिब ८० प्रतिशत कर्मचारीको तलब भत्तामा खर्च हुने गरेको डा पौडेल बताउँछन्। त्यस्तै अघिल्लो वर्षको नियमित बजेटअन्तर्गत अस्पतालले पाउँदै आएको बजेटमा अक्सिजनको शीर्षकमा बजेट नआएका कारण अक्सिजन आपूर्ति कम्पनीलाई पैसा तिर्न बाँकी रहेको पौडेलले बताए। अघिल्लो आर्थिक वर्षमा अक्सिजन खरिद शीर्षकमा मन्त्रालयबाट करिब साढे २ करोड रकम विनियोजन भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्रोत सुनिश्चित नगरी शय्या नि:शुल्क गरिदिएका छन्। प्रचारका लागि बिना योजना गरिएको उक्त निर्णयको असर देखिन थालेको छ। वीर अस्पतालसँग ग्यास उत्पादक कम्पनीलाई बक्यौता रकम तिर्ने स्रोत नभएको निर्देशक डा पौडेल बताउँछन्।











