काठमाडौँ । भोटेकोसीमा आएको बाढीले विस्थापित भएका ४ सय ८५ जनालाई सुरक्षित गन्तव्यतर्फ पठाइएको छ । असार २४ गते मध्यरातमा भोटेकोसीमा आएको बाढीका कारण पूर्ण रूपमा बन्द भएको स्याफ्रुबेशी र रसुवागढी सडक खण्ड सशस्त्र प्रहरीसहितको टोलीले अस्थायी पदमार्ग बनाई ४ सय ८५ भन्दा बढिलाई सुरक्षाका साथ गन्तव्यतर्फ पुर्याएको हो ।
साथै भन्सार कार्यालय यार्डमा फसेका २ वटा कन्टेनर र १ ईभी गाडीलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । भोटेकोसी नदीमा आएको बाढीले ठुलो जनधनमा क्षति पुर्याउनुका साथै बाढीमा परी सुरक्षाकर्मीसहित स्थानीय सर्वसाधारण बेपत्ता भएका छन् ।


बेपत्ता भएकाहरूमा ३ सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक छन् । हालसम्म ४ जनाको शव फेला परेको छ भने ५ वटा मानव अङ्ग मात्र फेला परेको छ । फेला परेको शवमध्ये १ वटा शवको मात्र पहिचान हुन सकेको छ भने अन्य शव र मानव अङ्ग त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।
उक्त शव तथा मानवअंग धादिङको गजुरी गाउँपालिका–६ बेल्खु, गल्छी गाउँपालिका–२ केउरेनीटार, बेनिघाट रोराङ गाउँपालिका–३ लामाबगर र चरौदी, गजुरी गाउँपालिका–२ मलेखु, नुवाकोट जिल्लाको विदुर–३ शिरखाली र मरनपाटी, रसुवाको उत्तर गया गाउँपालिका–५ उत्तरगया धाम खोलाको किनारा तथा त्रिशूली नदीको किनारामा फेला परेको थियो ।
ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी भोटेकाेसीमा मिसिँदा सो नदीले उग्ररुप लिई रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने पुलमा समेत क्षति पुर्याएको छ । नेपाल–चीन भन्सार नाका जोड्ने बाटो हाल अवरुद्ध भएको छ । उक्त क्षेत्रमा विद्युतीय लाइन अवरुद्ध छ भने सञ्चारका साधनहरूले समेत काम गर्न छाडेको छ ।
सो क्षेत्रमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय सर्वसाधारणहरु समेत खटिएका छन् । नेपाली ५०, चिनियाँ नागरिक १, भारतीय ४ जनागरी ५५ जनाको असार २४ गते सकुशल उद्धार गरिएको जनाइएको छ । उद्धार गरिएकामध्ये ४ महिला र ५१ पुरुष छन् । २३ जनालाई नेपाली सेनाको हेलिकपटरद्धारा सकुशल उद्धार गरिएको थियो भने अन्य व्यक्तिलाई विभिन्न उद्धार सामाग्रीको सहयोगले उद्धार गर्न सफल भएको छ ।

त्यस्तै भोटेकोसी नदीमा आएको बाढीले जोखिममा रहेका घरपरिवारका १ सय ६५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको समेत सह प्रवक्ता थापाले बताए । विभिन्न निजी कम्पनीको हेलिकप्टरद्वारा असार २४ र २५ गते उनीलाई सुरक्षित स्थानमा सारिएको हो ।
भोटेकोसीमा आएको बाढीले ४२ वटा ईभी गाडी, २३ वटा कार्गोसहितको कन्टेनर ट्रक, ६ वटा ट्रक लगायत लोडर , एक्जाभेटर, ८ वटा हेभी इक्युपमेन्ट, ३० वटा वेल्डिङ मेसिन र २० वटा ग्राण्डिङ मेसिन बगाएको छ । भन्सार क्षेत्रमा रहेको ईभी गाडीका चार्जिङ्ग स्टेसन, रसुवागढी जलविद्युत आयोजनाको ड्याम, हेडवर्क्स र लेबर क्याम्प, चिलिमे जलविद्युत आयोजनाको सुरुङ्गमार्गमा समेत क्षति पुर्याएको छ ।
बेपत्ता व्यक्तिको खोज, उद्धार तथा पुन:निर्माणमा समेत जिल्ला समितिको बैठक बसी विभिन्न निर्यणहरु गरी जिल्लाका सम्पूर्ण संयन्त्रलाई सक्रिय बनाउँदै आएको छ ।










