काभ्रे। काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–९ स्थित कालढुंगामा लेदो आएपछि अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ ।
खहरे खोलाबाट लेदो आएर सडक अवरुद्ध भएको थियो । जेसीबीको सहयोगमा लेदो पन्छाएर सोमबार बिहान ६ बजेदेखि राजमार्ग सञ्चालनमा ल्याइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले बताए ।


आइतबार साँझ दुइतर्फी सडक बन्द भएसँगै ईलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर ईश्वर कार्की नेतृत्वको टोली र ट्राफिक प्रहरीको टिम सडक खुलाउन लागिपरेका थिए । सडक सुचारु भएसँगै काठमाडौँबाट पूर्वतिर हिँडेका र पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेका सवारी साधनहरू निर्बाध सञ्चालन भएका छन् ।











