काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमितरूपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने विषयमा छलफल भएको छ । अर्थ मन्त्रालयमा मंगलबार भएको छलफलमा दुवै विमानस्थलमा दिगोरूपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेबारे कार्ययोजनामा छलफल गरिएको हो ।
त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भार व्यवस्थापन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि सम्भावित थप उपाय पहिचान गरी अघि बढ्नेबारे पनि छलफल भएको छ ।


छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायतको सहभागिता थियो ।










