काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सापकोटाले बुधबार गाडी फिर्ता गरेको जानकारी दिए ।
सापकोटालाई मन्त्रिपरिषद्को निर्णयअनुसार सचिवालयले गाडी उपलब्ध गराएको थियो । सुशीला कार्की नेतृत्वको सरकारले पूर्व पदाधिकारीलाई दिएको गाडी सुविधा खारेज गर्दै फिर्ता गर्न आग्रह गरेको थियो ।


त्यसपछि संघीय संसद् सचिवालयलाई सापकोटाले आफूलाई उपलब्ध गराइएको गाडी दसैँ पछि फिर्ता गर्ने जानकारी गराएका थिए । त्यही जानकारी बमोजिम आज सापकोटाले प्रयोग गरेको गाडी सचिवालयमा फिर्ता आएको प्रवक्ता गिरीले रातोपाटीलाई जानकारी दिए ।
आजै रातोपाटीमा संसद् सचिवालयले उपलब्ध गराएको गाडीबारे समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएलगत्तै सापकोटाको सचिवालयले रातोपाटीलाई सम्पर्क गर्दै मंगलबारकै मितिमा गाडी फिर्ता गरिएको बताएको छ ।










