काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवाहरूले ‘जेनजी रेड फोर्स’ गठन गरेका छन् । अनेरास्ववियु(क्रान्तिकारी)की केन्द्रीय सदस्य समेत रहेकी स्मृति तिमिल्सिनाको संयोजकत्वमा रेड फोर्स गठन भएको हो ।
सङ्गठनको नेतृत्व जेनजीले गर्ने भए पनि १४ देखि २९ वर्ष उमेरले नेतृत्व गर्ने गरी फोर्स गठन गर्न लागिएको संयोजक तिमिल्सिनाले रातोपाटीलाई बताइन् ।


‘अहिलेको सङ्क्रमणकालीन अवस्थामा देश साम्राज्यवादी तथा प्रतिक्रियावादीको रण मैदान बन्ने खतरा छ । सरकार विभिन्न एनजिओ/आइएनजिओले चलाइ राखेका छन् । देश नै नरहने अवस्था छ । जेनजी रेड फोर्स गठन गर्नुको उद्देश्य पार्टीलाई रूपान्तरण गरी चार/पाँच वर्षमा नम्बर एक पार्टी बनाउने हो’, उनले भनिन् ।
तिमिल्सिनाले असोज २९ गते सङ्गठनको औपचारिक घोषणा गर्ने तयारी भए पनि आज बेलुका सबै जिल्लाका संयोजकसँग छलफल गरी निष्कर्षमा पुग्ने बताइन् ।
उनका अनुसार अहिलेसम्म ४० जिल्लामा संयोजक तोकिएको छ । तिहार लगत्तै एक्सनमा उत्रिने तिमिस्सिनाले जानकारी दिइन् ।
‘म एउटै म्यासेज दिन चाहन्छु कि जति पनि पूर्वजनमुक्ति सेनामा लागेका अग्रज छन्, हाम्रा महान् योद्धाहरू, सहिद परिवारका मान्छेहरू जति जनयुद्धमा होमिएका थिए । नेतृत्वले वास्ता नगर्दा पार्टी त्याग गरेर गए । फोर्सले सुरुमा उनीहरूलाई आफ्नो घर फर्काउन चाहन्छ’, उनले भनिन्, ‘उनीहरुले महान् जनयुद्ध गरेर आए, राज्यबाट निर्मम हत्या भयो । पार्टी निर्माणमा यत्रो बलिदान दिए । यो पार्टीलाई टुक्रिन दिन हुँदैन । दुई चार जना गुटको आधारमा यो पार्टीलाई कब्जा गर्ने, तहसनहस गर्नेतिर लागिरहेका छन् ।’
तिमिल्सिनाले पार्टीभित्र देखिएका गुटबन्दीको अन्त्य, देशको राष्ट्रियता जोगाउनका लागि आफूहरू मर्न र मार्न पनि तयार रहेको बताइन् ।
‘देशको सङ्क्रमणकालीन अवस्थामा लड्न र मर्न परे नि हामी तयार छौँ । माओवादी केन्द्रमा चरम व्यक्तिवाद गुटवादी हाबी भइराखेको छ । यसलाई तोडेर नै छाड्छौँ । गुटवादी नेताहरूलाई पार्टीबाट निकालेर नै छाड्छौँ । माओवादीमा पनि कोही भ्रष्टाचारी छन् भने तीनलाई पनि हामी भौतिक कारबाही गर्छाैँ । तिनीहरूले हाम्रो पार्टीको महान् जनयुद्धलाई गनाउने पारेका छन्’, उनले भनिन् ।
अहिले पूर्वदेखि पश्चिमसम्म पार्टीको १०/११ लाख कार्यकर्ता रहेकामा आगामी पाँच वर्षका लागि पार्टी अध्यक्ष प्रचण्ड नै बन्नुपर्ने मत रहेकाले नेतृत्व परिवर्तनको विपक्षमा उभिन नसक्ने उनले बताइन् ।
उनले भनिन्–‘तल्ला तहका ९५ प्रतिशत पाँच वर्ष प्रचण्डलाई नै नेतृत्व दिनुपर्छ भन्ने पक्षमा छन् । प्रचण्ड बाहेक अहिलेको स्थिति सम्हाल्न सक्दैनन् भनेका छन् । पाँच वर्षपछि जेनजी नै आएर पार्टी हाँके पनि हाँक्नोस् भन्ने ग्राउण्ड लेभलको मत छ । हाम्रो पार्टी गणतन्त्रवादी भएका कारणले बहुमतको कदर गर्नुपर्छ । पार्टीभित्रै बहुमतले प्रचण्ड चाहन्छन् भने हामीले कसरी गणतन्त्रको अवहेलना गर्न सक्छौँ ?’
जेनजी सङ्गठनलाई पार्टी नेतृत्वबाट नै मान्यता पाएको दाबी गर्दै उनले अध्यक्षको मातहतमा सङ्गठन रहने स्पष्ट पारिन् । पार्टीमा जो अध्यक्ष भए पनि जेनजी सङ्गठन उसैको मातहतमा रहने हुँदा गुटबन्दी हुन नपाउने तिमिल्सिनाको भनाइ छ ।
पूर्वजनमुक्ति सेनाका परिवारबाट राजनीतिमा सक्रिय रहेकी तिमिल्सिनाले माओवादीलाई नम्बर एक पार्टी बनाएर देशको आमूल परिवर्तन गरेरै छाड्ने आत्मविश्वास व्यक्त गरिन् ।










