काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बुधबार दिउँसो शृङ्खलाबद्ध चोरी भएका छन्। एकैदिन तीन स्थानबाट सुन, चाँदीका गरगहना र नगदसहित ५२ लाख ५१ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित यादवप्रसाद पन्थीको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब २६ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको धनमाल चोरी भयो।


त्यस्तै, काठमाडौँकै कीर्तिपुर नगरपालिका–१, चाँदनीचोक डेरा गरी बस्ने विकाश श्रेष्ठको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
यता, ललितपुरको महालक्ष्मी नगरपालिका–१, इमाडोल सक्षम टोल बस्ने गजेन्द्र प्रधानको घरबाट नगद, सुन तथा चाँदीका गरगहना गरी करिब १८ लाख ३८ हजार ८ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको र यससम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।










