खानीखोला, काभ्रे । जिल्लाको खानीखोला गाउँपालिकामा यसवर्ष पनि पवित्र आध्यात्मिक साधना ‘कुन्छाम्’ (गुफा) हुने भएको छ। कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङ खानीखोलाका अध्यक्ष वीरबहादुर वाइबाले विभिन्न क्षेत्रका लामाहरूको उपस्थितिमा तेस्रो चरणको कुन्छाम् बसाइको तयारी पूरा भएको जानकारी दिए।

वाइबाका अनुसार खानीखोला–४ स्थित साङ्दुपलरी गुम्बा, घायाबारीमा पुस १ गते औपचारिक उद्घाटन हुने छ। उद्घाटनलगत्तै लामा गुरु खेन्पो सेराप ग्याल्छेनबाट थुन सुरु भई पुस महिनाको मसान्तमा सम्पन्न हुने छ। यसअघि लगातार दुई वर्ष गाउँपालिकाको केन्द्र तालढुंगामा कुन्छाम राखिएको थियो।

अध्यक्ष वाइबा भन्छन्, “यो वर्ष अघिला वर्षहरूभन्दा सहभागी लामाहरूको संख्या अझ बढ्ने अनुमान छ।” गत वर्ष मात्र दुई सय जना लामा विभिन्न चरणमा गरी कुन्छाम बसेका थिए। काभ्रेसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, रौतहट, बारा लगायत जिल्लाबाट लामाहरू सहभागी हुने आयोजकले जनाएको छ।

उनका अनुसार कुन्छामको उद्देश्य केवल साधनापुरक मात्र नभएर अहिंसा र शान्तिको विस्तार, बौद्ध धर्म, कला र संस्कृतिको संरक्षण–संवर्द्धन, तामाङ समुदायको मौलिक भाषा, लिपि, परम्परा र बौद्ध दर्शनलाई जीवित राख्ने साझा अभियान पनि हो। उनले पछिल्लो समय तामाङ समाजमा लामा संख्या घट्दो देखिएकोले यो अभ्यासले लामा पठनपाठनलाई बलियो बनाउँदै नयाँ लामा उत्पादनमा सहयोग पुग्ने विश्वास रहेको बताए।

कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङका सचिव प्रेमबहादुर स्याङ्तानका अनुसार कुन्छामले धार्मिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै लामाहरूलाई अनुशासित, संगठित र ज्ञानसम्पन्न बनाउन टेवा पुर्‍याउनेछ। “यो केवल ध्यान वा बसाइ होइन, बुद्ध दर्शन, करुणा, शान्ति र प्राणीमात्रप्रति दया फैलाउने मार्ग हो ।,” स्याङ्तानको भनाइ छ। उनका अनुसार यसले खानीखोलाको धार्मिक पर्यटन विकासमा समेत महत्वपूर्ण योगदान गर्नेछ।

आयोजकले व्यवस्थापन सहज बनाउनका लागि एकैपटक ठूलो संख्यामा सहभागिता हुन सक्ने भएकाले पहिल्यै सम्पर्क गरी नाम दर्ता गराउन आग्रह गरेको छ । साथै, कुन्छाम बस्न आउने लामाहरूलाई खाना खाने थाल/प्लेट, गिलासजस्ता व्यक्तिगत सामग्री आफैं ल्याउन अनुरोध गरिएको छ।

सहयोगको अपिल : सामूहिक पुण्यमा तपाईंको हातेमालो कुन्छाम बसाइ लामो समयको शारीरिक, आध्यात्मिक र व्यवस्थापकीय तयारी माग्ने प्रक्रिया हो। धेरै ठाउँबाट लामाहरू आउने भएकाले दैनिक खाद्यान्न, म्याट, सरसफाइ र बसोबास व्यवस्थापन चुनौतीपूर्ण बन्ने देखिएको छ।

लामा घेदुङ खानीखोलाका सचिव तितुङका अनुसार गाउँपालिकासँग माग गरिएको बजेट प्राप्त नभएकाले आयोजक स्वयंले आवश्यक खर्च व्यहोर्नुपर्ने स्थिति आएको छ। तितुङले भने “आत्मिक साधनास्थल सबैको हो । यसको सफलतामा समुदायको योगदान अपरिहार्य छ ।,”

यसैले इच्छुक व्यक्ति, संघ/संस्था, स्थानीयवासी, धर्मावलम्बी तथा समाजसेवीहरूलाई सकेजति सहयोग गर्न नम्र अनुरोध गरिएको छ। खाद्यान्न, म्याट, सामग्री वा आर्थिक रूपमा गरिएको सानो सहयोगले पनि सयौँ साधक लामा भ्राताको साधनालाई सहज, अर्थपूर्ण र सफल बनाउन मद्दत गर्नेछ। समुदायको हातेमालोले मात्रै आध्यात्मिक यात्राको उज्यालो दीर्घकालसम्म टिक्ने हुदाँ क्षमता अनुरुपको सहयोगको लागि आयोजकको अपिल छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय