♦बिपिन दाहाल
काभ्रेलाञ्चोक । श्रमिक जनउत्थान साकोसको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। काभ्रे जिल्लामा क्रियाशील श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको हो ।
सभाबाट शुसिला श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेका छन् । समितिको उपाध्यक्षमा प्रेमबहादुर लिम्बु, सचिवमा वेली माया लामा, कोषाध्यक्षमा दिव्य किरण तिमल्सिना चयन भएका छन्।


त्यसैगरी सञ्चालक समिति सदस्यहरूमा अर्चना वैद्य, हरेराम काफ्ले, इन्द्रमाया तामाङ, अमृता रावल र विनोद रोक्का चयन भएका छन्।लेखा सुपरिवेक्षण समितिको संयोजकमा उद्धवप्रसाद तिमल्सिना चयन हुँदा सदस्यहरूमा प्रकाश अधिकारी र गोमा थापा निर्वाचित भएका छन्।
काभ्रे जिल्लाकै पहिलो उदाहरणका रूपमा तीन दिनसम्म सञ्चालन गरिएको साधारणसभाको समापनसँगै आज नयाँ कार्यसमिति चयन गरिएको हो। साधारणसभाको अन्तिम दिन आयोजित निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्दै संस्थाले आगामी कार्यकालका लागि नयाँ दिशा तय गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुपराज कर्मचार्य उपस्थित रहनुभएको थियो। उहाँले सहकारीले श्रमिक तथा समुदायको आर्थिक सशक्तीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै पारदर्शिता, उत्तरदायित्व र सदस्य–केन्द्रित सेवामा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सहकारी अभियन्ता तथा समाजसेवी राजन अधिकारीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी अध्यक्ष पदबाट औपचारिक रूपमा बिदा लिँदै नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गर्नुभएको छ। उहाँले आफ्नो कार्यकालमा सहकारीलाई संस्थागत विकास, सदस्य विस्तार र वित्तीय अनुशासनको बाटोमा अघि बढाउन सकेको उल्लेख गर्दै नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा पनि सहकारी अभियानमा निरन्तर साथ, सहयोग र मार्गदर्शन रहने प्रतिबद्धता जनाउनुभयो।
नवनिर्वाचित अध्यक्ष शुसिला श्रेष्ठले सहकारीलाई अझ सक्षम, पारदर्शी र सदस्यमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै श्रमिक वर्गको आर्थिक उत्थान नै संस्थाको प्रमुख लक्ष्य रहने बताउनुभयो। उहाँले अघिल्लो कार्यसमितिको योगदानको प्रशंसा गर्दै सहकारीलाई दिगो विकासको मार्गमा अघि बढाइने धारणा राख्नुभयो।
तीन दिनसम्म चलेको साधारणसभाले संस्थाको आर्थिक प्रतिवेदन, आगामी कार्ययोजना र नीतिगत निर्णयहरू पारित गर्दै सहकारी अभियानलाई थप सशक्त बनाउने निष्कर्ष निकालेको छ।










