काभ्रेपलाञ्चोक। नेपाली कम्युनिष्ट पार्टीले जिल्लाको रोशी गाउँपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम तथा मतदातासँग भेटघाटलाई तीव्र बनाएको छ। आसन्न फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीका केन्द्रीय सदस्य तथा क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार दिननाथ गौतम, समानुपातिक उम्मेदवार मिना पाख्रीन र रामदेवी तामाङले मतदातासँग प्रत्यक्ष भेटघाट गरी मतदान गर्न अपिल गरेका हुन्।
घरदैलो अभियान अन्तर्गत पागुबेँसी, स्याउरी हुँदै ताङ्लिङ, नारायणटार, मस्नेगे, बदौरे, साझकोट, महादेबटार, सिग्देल माटे लगायत वडा नं. १, २, ३ र ४ का विभिन्न बस्तीमा पुगेर उम्मेदवार तथा नेताहरूले मतदातासँग छलफल गरेका थिए।


उम्मेदवार गौतमले आफू निर्वाचित भएमा सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। “सडक निर्माण भएपछि अन्य विकासका ढोका स्वतः खुल्नेछन्,” उनले भने, “भूगोलका कारण विकट रहेको यस क्षेत्रलाई मेरो कार्यकालभित्र सुगम क्षेत्रमा रूपान्तरण गर्ने लक्ष्य छ।”
उनले खानेपानी, शिक्षा, स्वास्थ्य, दीर्घकालीन सडक निर्माणलगायत आधारभूत पूर्वाधार विकासमा जनतासँग सहकार्य गर्दै अघि बढ्ने वाचा गरे। यस क्षेत्रको जटिल भूगोलका कारण विकासमा अपेक्षित प्रगति हुन नसकेको उल्लेख गर्दै उनले समग्र काभ्रे क्षेत्र नं. १ का मतदातालाई परिवर्तनका पक्षमा मतदान गर्न आग्रह गरे।
गौतमले स्थायी शिक्षक पेशा त्यागेर २०५२ सालदेखि समाज परिवर्तनको आन्दोलनमा सक्रिय रहँदै आएको स्मरण गर्दै समावेशी, समानुपातिक प्रतिनिधित्व तथा दलित, जनजाति, मधेसी र पिछडिएका क्षेत्रका आवाज उठाउँदै आएको दाबी गरे। “परिवर्तन नै हाम्रो पार्टीको मूल उद्देश्य हो,” उनले भने।
घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व ऊर्जा राज्यमन्त्री सुर्यमान दोङ, क्षेत्र नं. १ निर्वाचन संयोजक गंगा बहादुर दोङ, प्रचारप्रसार उपसंयोजक मुकुन्द गौतमलगायत केन्द्रीय, प्रदेश, जिल्ला, पालिका तथा वडा तहका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।
0000
नेताहरूले आसन्न निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीलाई मतदान गरी विजयी गराउन मतदातासमक्ष हार्दिक अपिल गरेका छन्।










