काभ्रेपलाञ्चोक । नेपाली कम्युनिष्ट पार्टीले काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा आफ्नो घरदैलो अभियानलाई तीव्र बनाएको छ। तेमाल–४ को मौरे भञ्ज्याङबाट सुरु भएको अभियान तेमाल–८ को बोरज्याममा सम्पन्न जनसभासँगै उत्साहजनक रूपमा अघि बढेको छ।
कार्यक्रममा काभ्रे क्षेत्र नं. १ का उम्मेदवार दिननाथ गौतमको प्रमुख आतिथ्यता रहेको थियो। विभिन्न बस्ती तथा टोल–टोलमा आयोजित जनसभा र घरदैलो कार्यक्रममार्फत पार्टीले मतदातासँग प्रत्यक्ष भेटघाट गरेको जनाएको छ।


उम्मेदवार गौतमले तेमालको समग्र विकासमा आफू सधैं प्रतिबद्ध रहने बताए। शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिने उल्लेख गर्दै उनले तेमालको प्रसिद्ध बुद्धचित्ता मालाको उचित मूल्यसहित व्यवस्थापन गर्ने योजना अघि सारे।
“यो विशेष परिस्थितिमा आएको चुनाव हो। विगतमा अधुरा रहेका विकासका काम पूरा गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ,” उनले भने। घरदैलोमार्फत मतदातासँग समर्थन माग्दै उनले विजयी गराउन अपिल गरेका छन्। निर्वाचित भएपछि जनताकै बीचमा बसेर समस्या समाधानमा केन्द्रित रहने उनको भनाइ छ।
आजको कार्यक्रम तेमाल–४, ५, ७ र ८ का विभिन्न स्थानमा मतदाता भेटघाटसहित सम्पन्न भएको थियो। तेमाल–८ मा स्थानीय कार्यकर्ताले बाजागाजा, झाँकी र डम्फु नाचसहित भव्य स्वागत गरेका थिए। जनसभामा उल्लेख्य कार्यकर्ता उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा अकल बहादुर थिङ (महेश), मुकुन्द गौतम, जिल्ला समन्वय प्रमुख दिपक कुमार गौतम , होम कुमारी तामाङ ( अस्मिता) महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा (संसार), होम बहादुर खुलाल, दल बहादुर लामा (डीएम) दिल बहादुर थोकर ( ग्याम्सो) लगायत स्थानीय नेता तथा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नेताहरूले काभ्रे क्षेत्रमा नेकपाको विकल्प अन्य कुनै पार्टी हुन नसक्ने दाबी गर्दै यस पटकको निर्वाचनमा पार्टीको जित सुनिश्चित हुने बताएका छन्।










