महाभारत, काभ्रे । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को कार्यसम्पादन मूल्याङ्कनमा काभ्रेकाे जिल्ला १३ स्थानीय तहमध्येको नगरपालिकामा धुलिखेल नगरपालिका र गाउँपालिकामा महाभारत गाउँपालिका जिल्लामै प्रथम भएको छ ।
धुलिखेल नगरपालिका ७५ दशमलव ९७ र महाभारत गाउँपालिका ७१ दशमलव २५ अङ्क प्राप्त गर्दै जिल्लाभरिका स्थानीय तहमध्ये उत्कृष्ट प्रदर्शन गरेको हो ।


आयोगद्वारा प्रकाशित प्रतिवेदनअनुसार पनौती नगरपालिकाले ७३ दशमलव ९०, बनेपा नगरपालिकाले ७२ दशमलव ३३, मण्डनदेउपुर नगरपालिकाले ६९ दशमलव ९६, पाँचखाल नगरपालिकाले ६४ दशमलव ६३ र नमोबुद्ध नगरपालिकाले ६० दशमलव ०३ अङ्क प्राप्त गरेका छन् ।
त्यसैगरी चौरीदेउराली गाउँपालिकाले ६५ दशमलव ४६, भुम्लु गाउँपालिकाले ६४ दशमलव ९८, बेथाचोक गाउँपालिकाले ६२ दशमलव ९०, रोशी गाउँपालिकाले ५७ दशमलव १२, तेमाल गाउँपालिकाले ५४ दशमलव २४ र खानीखोला गाउँपालिकाले ४५ दशमलव ९० अङ्क प्राप्त गरेका छन् ।
आयोगले वित्तीय अनुशासन, योजना कार्यान्वयनको अवस्था, पारदर्शिता, सुशासन, राजस्व सङ्कलन, सार्वजनिक उत्तरदायित्व, संस्थागत क्षमता विकास तथा सेवा प्रवाहको प्रभावकारितालगायत १७ सूचकका आधारमा स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन गरेको जनाएको छ ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले उक्त उपलब्धि समग्र गाउँपालिकाको प्रतिबद्धता, समन्वय र सामूहिक टिमवर्कको परिणाम भएको बताउनुभयो। उहाँले यस नतिजाले संस्थागत क्षमता अभिवृद्धि, सुशासन प्रवर्धन तथा सेवा प्रवाहलाई अझ नतिजामुखी र पारदर्शी बनाउने दिशामा थप ऊर्जा मिलेको उल्लेख गर्नुभयो ।










