काभ्रेपलाञ्चोक । गत २१ वैशाख राति परेको वर्षापछि आएको बाढीका कारण बीपी राजमार्ग अन्तर्गत रोशी–७ लास्कोट र घुमाउने खोलाको बीच भागमा फसेका यात्रुको उद्धार गर्ने सशस्त्र प्रहरीलाई नगदसहित सम्मान गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १५ गण हेड क्वाटर काभ्रेपलाञ्चोकको २४औं वार्षिकोत्सव कार्यक्रममा रोशी खोलामा फसेका ५ वटा माइक्रोबसका ८९ यात्रुको जोखिम मोलेर उद्धार गर्ने गणमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक भरत न्यौपाने, हबलदार श्रीकृष्ण कार्की, हबलदार बुद्धि खड्का, सहायक हबलदार किरण कुँवर र अशोकजंग दनुवारलाई नगद सहित सम्मान गरिएको हो ।


उनीहरूलाई संगठनको छवि उच्च बनाउन साहसिक र व्यावसायिक कौशलताको उत्कृष्ट कार्यको प्रदर्शनी गर्दै उद्धारकार्य सहज एवं सफलतापूर्वक गरेको भन्दै सम्मान गरिएको हो ।
त्यस्तै पाँचखाल चौकीका इन्चार्ज प्रशान्त तामाङ र इलाका प्रहरी कार्यालय देवीटारका इन्चार्ज इन्द्रबहादुर राउत सम्मानित भए । उनीहरूलाई नम्बर ३ गढीमाई बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले सम्मान गरेका थिए ।
२१ वैशाख साँझदेखि परेको अविरल वर्षापछि रोशी खोलाको रोशी–७ लास्कोट र घुमाउने खोलाको बीच भागमा नदीको बहाव बढ्न गई फसेका पाँचवटा माइक्रोबसका ८९ जना यात्रुहरूलाई सशस्त्र प्रहरी बल नेपाल नं. १५ गणबाट गणपति सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीको नेतृत्वमा खटिएका विपद् उद्धारक टोलीले उद्धार गरेको थियो ।
२४औं वार्षिकोत्सव कार्यक्रम
सशस्त्र प्रहरी बल, नेपाल नं. १५ गण हेड क्वाटर काभ्रेपलाञ्चोकको २४औं वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले वार्षिकोत्सवको उद्घाटन गरे ।
कार्यक्रममा पोखरेलले राष्ट्रको सुरक्षा, विपद् व्यवस्थापन तथा नागरिक सुरक्षामा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आएको भूमिकाका बारेमा मन्तव्य राखेका थिए ।
उनले अनुशासन, कर्तव्यनिष्ठा र जनसेवाको भावनालाई अझ सुदृढ बनाउँदै संगठनलाई थप प्रभावकारी बनाउने दिशामा सबै जिम्मेवार लाग्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लाको शान्ति सुरक्षा कायम गर्न तथा विपद्का समयमा नागरिकको उद्धार र राहतमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले स्थानीय तह र सुरक्षा निकायबीचको सहकार्यले नागरिकलाई प्रत्यक्ष लाभ पुगेको बताए ।
विपद् तथा आपतकालीन अवस्थामा सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय रहेको उनको भनाइ छ ।










