काभ्रे । महाभारत गाउँपालिकाले “उत्पादनमार्फत समृद्ध महाभारत निर्माण” गर्ने महाअभियान अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा व्यापक रूपमा कफी खेती विस्तार कार्यक्रम सञ्चालन गरेको छ। विभिन्न कार्यक्रममार्फत गाउँपालिकाका अधिकांश वडामा कफीका बिरुवा वितरण तथा रोपण कार्य तीव्र रूपमा अघि बढाइएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिएका छन्।

गाउँपालिकाले सञ्चालन गरेको “जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट” कार्यक्रम अन्तर्गत हालसम्म वडा नम्बर १, ६ र ७ मा करिब ३० हजार कफीका बिरुवा वितरण भइसकेका छन् भने बाँकी वडाहरूमा पनि केही दिनभित्र वितरण गरिने तयारी गरिएको छ।

त्यसैगरी “एक वडा एक कृषि उत्पादन” कार्यक्रम अन्तर्गत वडा नम्बर ५ मा करिब ३२ हजार कफीका बिरुवा रोपिसकिएको छ। यस्तै, ब्लक विकास कार्यक्रम अन्तर्गत वडा नम्बर २ र ३ मा १७ हजार बिरुवा रोपण सम्पन्न भएको अध्यक्ष जिम्बाले बताए।

कफी प्रवर्द्धन कार्यक्रम पनि कार्यान्वयनको चरणमा रहेको र यस कार्यक्रमबाट थप करिब ३५ हजार बिरुवा रोपिने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ। यी सबै कार्यक्रममार्फत आर्थिक वर्ष २०८२/०८३ भित्र महाभारत गाउँपालिकामा कुल १ लाख १४ हजारभन्दा बढी कफीका बिरुवा रोपिने अनुमान गरिएको छ।

कफी खेतीलाई दिगो तथा व्यवसायिक बनाउन गाउँपालिकाले अन्य विभिन्न सहायक कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ। जसअन्तर्गत साना सिंचाइ आयोजना, कृषि यन्त्र तथा उपकरण वितरण, कफी सुकाउने घर निर्माण, मल्चिङ तथा थोपा सिंचाइ प्रणाली, कफी बगैंचा स्थापना, कफी नर्सरी स्थापना, छहारी बिरुवा वितरण, कृषक तालिम तथा अध्ययन अवलोकन भ्रमणलगायतका गतिविधि सञ्चालन भइरहेका छन्।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले कफी खेतीलाई महाभारतको आर्थिक समृद्धिसँग जोड्दै कृषकको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको बताए।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय