काभ्रेपलाञ्चोक । आर्थिक अभावका कारण दुधले जलेर घाइते भएकी एक महिलाको उपचारमा समस्या उत्पन्न भएको छ। खानीखोला गाउँपालिका–७ बोरनबेसीकी २१ वर्षीया सृजना लोप्चन (मोक्तान) को उपचारका लागि परिवारले सहयोगको अपिल गरेको छ।
पारिवारिक स्रोतका अनुसार सृजना दुधको खुवा बनाउने क्रममा एक्कासि बेहोस भएपछि उम्लिरहेको दुध शरीरमा खस्दा उनको छाती, हात र खुट्टामा गम्भीर चोट पुगेको थियो। घटनालगत्तै परिवारले उनलाई उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर अस्पताल पुर्याएको थियो। हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ।


अस्पतालले उपचारमा ठूलो रकम खर्च लाग्ने जनाएको र हालसम्म दुई लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ। आर्थिक अवस्था कमजोर रहेका कारण थप उपचार खर्च जुटाउन कठिनाइ भइरहेको बताइएको छ।
सृजनाका श्रीमान गणेश मोक्तान रोजगारीको सिलसिलामा कतारमा रहेका छन्। उपचारका लागि आवश्यक रकम समयमै जुटाउन निकै कठिन भइरहेको भन्दै सबैलाई सहयोग गरिदिन उनका ससुरा सोमलाल मोक्तानले अनुरोध गरेका छन्। सृजनाको दुई वर्षीया एक छोरी पनि छिन्।
सृजनालाई बेहोस हुने रोगका कारण यसअघि पनि विभिन्न दुर्घटनाहरू भएको परिवारले जनाएको छ। सन्तलाल मोक्तानका अनुसार करिब सात महिनाअघि बेहोस भई भिरबाट लड्दा उनको हात भाँचिएको थियो भने दुई वर्षअघि तरकारी पकाउने क्रममा आगोले शरीरका केही भाग जलेका थिए।
गाउँमै सामान्य खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएको मोक्तान परिवारलाई अहिले उपचारका लागि आवश्यक रकम जुटाउन निकै कठिन भएको छ। जीवन रक्षाका लागि सहयोगको याचना गर्नुपरेको भन्दै परिवारले देश तथा विदेशमा रहेका सहयोगी मनहरूसमक्ष आर्थिक सहयोगको अपिल गरेको छ।
सहयोग गर्न इच्छुक व्यक्तिहरूले नबिल बैंक लिमिटेडमा सन्तलाल मोक्तानको नाममा रहेको खाता नम्बर ०२३१००१७५३१२४१ मा रकम जम्मा गर्न सक्नेछन्। साथै थप जानकारीका लागि ९७४७५२७९८९ नम्बरमा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ।साथै ग्लोबल खबरको टिमलाई पनि सम्पर्क गर्न सक्नु हुनेछ ।










