काभ्रेपलाञ्चोक। महाभारत गाउँपालिकाले कफी खेतीलाई दीर्घकालीन रूपमा प्रवर्द्धन गर्दै उत्पादन, उत्पादकत्व र गुणस्तरीय कफी उत्पादन अभिवृद्धि गर्ने उद्देश्यले अनुभव आदानप्रदान भ्रमण गरेको छ।

महाभारत गाउँपालिकाका जनप्रतिनिधि, कृषि विकास शाखा, कृषि विकास कार्यालय काभ्रेपलाञ्चोक तथा महाभारत साना किसान कृषि सहकारी संस्था लि. को संयुक्त सहभागितामा नेपालका पूर्वी पहाडी जिल्लाका विभिन्न सरकारी कार्यालय, कफी विकाससँग सम्बन्धित निकाय तथा सफल कफी व्यवसायीहरूको फार्ममा स्थलगत अवलोकन, अध्ययन तथा अनुभव आदानप्रदान गरिएको हो।

भ्रमणका क्रममा सहभागीहरूले कफी खेतीमा प्रयोग हुने आधुनिक प्रविधि, गुणस्तरीय बिरुवा उत्पादन, बगैँचा व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण, उत्पादन वृद्धि, प्रशोधन, बजारीकरण र मूल्य अभिवृद्धिसम्बन्धी प्रभावकारी अभ्यासहरूको अवलोकन गरेका थिए। साथै सफल कृषक तथा कफी व्यवसायीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनीहरूको अनुभव, चुनौती र सफलताका उपायबारे जानकारी लिएका थिए।

गाउँपालिकाका अनुसार यस अध्ययन भ्रमणबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई महाभारत गाउँपालिकामा व्यवहारमा उतारेर कफी खेतीलाई व्यावसायिक, दिगो तथा आयआर्जनमुखी बनाउने लक्ष्य राखिएको छ। यसबाट स्थानीय किसानको उत्पादन क्षमता वृद्धि हुनुका साथै गुणस्तरीय कफी उत्पादनमार्फत आर्थिक समृद्धिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

सहभागीहरूले महाभारत गाउँपालिकाको हावापानी र भौगोलिक अवस्थिति गुणस्तरीय कफी उत्पादनका लागि उपयुक्त रहेको उल्लेख गर्दै उत्पादनसँगै प्रशोधन, ब्रान्डिङ र बजारीकरणमा विशेष जोड दिन सके गाउँपालिकालाई देशकै उत्कृष्ट कफी उत्पादन क्षेत्रका रूपमा स्थापित गर्न सकिने धारणा व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय