काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले नेट टिभी प्रालिलाई ओटीटी (ओभर–द–टप) प्रसारण सेवा सञ्चालनका लागि आधिकारिक इजाजतपत्र प्रदान गरेको छ।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार उक्त इजाजतपत्रसँगै नेटटिभीले आफ्नो एप र वेबसाइटमार्फत नेपालभर २४सै घण्टा ओटीटी सेवा सञ्चालन गर्न पाउने भएको छ।


नेटटिभीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरन राजभण्डारीले ओटीटी प्रसारण सेवाको आधिकारिक लाइसेन्स प्राप्त गर्नु कम्पनीका लागि ऐतिहासिक र गौरवपूर्ण उपलब्धि भएको बताए ।
कम्पनीका अनुसार नेटटिभीले सन् २०१७ मै नेपालमा ओटीटी एप सार्वजनिक गरेको थियो। साथै, यो नेपालकै पहिलो आईपीटिभी सेवा प्रदायकसमेत रहेको दाबी गरिएको छ। भिडियो स्ट्रिमिङ र डिजिटल कन्टेन्टको विकासमा योगदान पुर्याएको नेटटिभीले अब सरकारी इजाजतपत्र प्राप्त गरेसँगै आफ्नो सेवा थप विस्तार गर्ने जनाएको छ।
इजाजतपत्र प्राप्त भएसँगै नेटटिभीले नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका इजाजतप्राप्त टेलिभिजन च्यानल, अनुमति प्राप्त विदेशी कार्यक्रम तथा विभिन्न डिजिटल सामग्री प्रसारण गर्नेछ।
कम्पनीका अनुसार नेटटिभीमा एक हजारभन्दा बढी चलचित्र, विभिन्न वेब सिरिज, स्वदेशी तथा विदेशी ड्रामा, लाइभ स्पोर्ट्स, लाइभ टेलिभिजन तथा अन्य मनोरञ्जनात्मक सामग्री उपलब्ध छन्। यी सामग्री मोबाइल, ट्याब्लेट, स्मार्ट टिभीलगायत विभिन्न डिजिटल उपकरणमार्फत जुनसुकै समय हेर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।










