काभ्रेपलाञ्चोक। महाभारत गाउँपालिकाले कफी उत्पादन, गुणस्तर अभिवृद्धि तथा बजारीकरणमा उल्लेखनीय सफलता हासिल गर्दै राष्ट्रिय स्तरमा नयाँ पहिचान स्थापित गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफी उत्पादन, गुणस्तर अभिवृद्धि तथा बजारीकरणमा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै महाभारत गाउँपालिकालाई विशेष सम्मान प्रदान गरेको हो।

बोर्डद्वारा नेपालका विभिन्न जिल्ला तथा स्थानीय तहबाट प्राप्त ३२ वटा कफी ग्रीन बिन्सका नमुनाको परीक्षण, ग्रेडिङ तथा स्कोरिङ गर्दा महाभारत गाउँपालिकाका दुई उत्पादकले उत्कृष्ट नतिजा हासिल गरेका छन्।

महाभारत गाउँपालिका–५, चौडिक क्षेत्रस्थित सानाकिसान सहकारी लिमिटेड ले पठाएको कफी नमुनाले ८६ अंक प्राप्त गर्दै नेपालभर दोस्रो स्थान हासिल गरेको छ। त्यसैगरी, महाभारत गाउँपालिका–३/४, फोक्सिन्टार–महादेवटार क्षेत्रस्थित दोगा कृषि फर्म ले पठाएको नमुनाले ८४.५ अंक प्राप्त गर्दै नेपालभर तेस्रो स्थान हासिल गरी पुरस्कृत भएको छ।

गाउँपालिकाका अनुसार यो उपलब्धि स्थानीय कफी किसान, सहकारी संस्था, कृषि उद्यमी तथा अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न सबैको निरन्तर मेहनत, लगन र समर्पणको प्रतिफल हो। यस सफलताले महाभारत गाउँपालिकालाई नेपालको गुणस्तरीय कफी उत्पादन गर्ने प्रमुख क्षेत्रका रूपमा स्थापित गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार) ले उक्त उपलब्धिप्रति खुसी व्यक्त गर्दै “उत्पादनसँगै समृद्धि महाभारत” महाअभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए। उनले आगामी दिनमा कफी उत्पादनको क्षेत्र विस्तार, गुणस्तर अभिवृद्धि र बजारीकरणलाई अझ प्रभावकारी बनाउँदै महाभारतलाई नेपालकै उत्कृष्ट कफी गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे।

उनले “चिया हेर्न इलाम जाने” भन्ने पहिचानजस्तै भविष्यमा “कफी हेर्न महाभारत जाने” भन्ने नयाँ परिचय स्थापित गर्ने गरी कफी क्षेत्रमा लगानी, उत्पादन र प्रवर्द्धनलाई निरन्तर अघि बढाइने बताए।

महाभारत गाउँपालिकाले यस सफलताका लागि सम्पूर्ण कफी किसान, सहकारी संस्था, कृषि उद्यमी तथा सरोकारवाला सबैलाई बधाई ज्ञापन गर्दै उत्पादन वृद्धि, गुणस्तर सुधार र समृद्ध महाभारत निर्माणको अभियानलाई थप सशक्त रूपमा अगाडि बढाइने जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय