काठमाडौं । तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले आज नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मोर्चाको वर्तमान अवस्था, आन्दोलन, समसामयिक राजनीतिक सवाल तथा भावी विकल्पबारे विस्तृत छलफल गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ।
मोर्चाका अनुसार भेटघाटमा तामाङ समुदायको पहिचान, अधिकार, समानुपातिक प्रतिनिधित्व, स्वायत्तता, संगठन सुदृढीकरण तथा पार्टीभित्र तामाङ समुदायको भूमिकालगायत विषयमा सकारात्मक र गम्भीर छलफल भएको थियो।


मोर्चाले बुझाएको ध्यानाकर्षण पत्रमा ऐतिहासिक रूपमा उठाउँदै आएको आत्मनिर्णयको अधिकार, राष्ट्रिय स्वायत्तता, समानुपातिक प्रतिनिधित्व तथा तामाङ समुदायका राजनीतिक अधिकार सुनिश्चित गर्नुपर्ने माग पुनः दोहोर्याइएको छ। साथै, पार्टी नेतृत्वसँग ती विषयलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरिएको छ।
भेटघाटमा नेकपाका तर्फबाट माननीय परशुराम तामाङ, हितबहादुर तामाङ, सूर्यमान दोङ, शालिकराम जमकट्टेल, सरल सहयात्री र राधिका तामाङ सहभागी हुनुहुन्थ्यो।
त्यस्तै मोर्चाका तर्फबाट कार्यवाहक अध्यक्ष अविरल जिम्बा तामाङ, उपाध्यक्षहरू गोपी सिङ्तान, हिमाली गोले, मनोज तामाङ र हरिजङ्ग तामाङ, महासचिव लिलाकुमार घलान, सचिवद्वय रक्षेकुमार घलान (युनिक), सचिव सुकराम तामाङ, कोषाध्यक्ष उषा वाइबा तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
मोर्चाले छलफल सकारात्मक र उपलब्धिमूलक भएको उल्लेख गर्दै तामाङ समुदायका अधिकार र पहिचानका विषयमा पार्टी नेतृत्वले आवश्यक पहल गर्ने विश्वास व्यक्त गरेको छ।










