काभ्रेपलाञ्चोक । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २७औँ स्थापना दिवस काभ्रेपलाञ्चोकमा शुभकामना आदानप्रदान तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरी मनाइएको छ।

फोनिज काभ्रेको आयोजनामा बनेपा नगरपालिका–स्थित धनेश्वर ढिँडो दरबारमा बिहीबार आयोजित कार्यक्रममा आदिवासी जनजाति समुदायका सवाल, अधिकार, भाषा, संस्कृति, पहिचान तथा समावेशी पत्रकारिताका विषयमा छलफल गरिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठले आदिवासी जनजाति समुदायका मुद्दा र अधिकारका विषयमा स्वयं आदिवासी जनजाति पत्रकारहरू थप सक्रिय भएर कलम चलाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले आदिवासी जनजातिका मुद्दा अरूले उठाइदिने अपेक्षा गर्नुभन्दा आफ्नै समुदायका समस्या, अधिकार, भाषा, संस्कृति, पहिचान र राज्यसँग जोडिएका सवाललाई पत्रकारितामार्फत प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभयो।

‘समुदायका आवाजलाई सम्बन्धित निकायसम्म पुर्‍याउने महत्वपूर्ण माध्यम पत्रकारिता हो,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘त्यसैले आदिवासी जनजाति पत्रकारहरूले आफ्ना समुदायका सवाललाई तथ्य र अध्ययनमा आधारित भएर प्रभावकारी ढंगले उठाउन आवश्यक छ।’

श्रेष्ठले फोनिजकर्मीहरूको पेशागत क्षमता अभिवृद्धिका लागि समयानुकूल तालिम तथा प्रशिक्षण सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो। बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारिताका नयाँ आयाम विकसित भइरहेकाले पत्रकारहरूले आफ्नो क्षमता र दक्षतालाई निरन्तर अद्यावधिक गर्नुपर्ने उहाँको भनाइ थियो।

विशेषगरी आदिवासी जनजातिका भाषा, संस्कृति, इतिहास, पहिचान र अधिकारसँग सम्बन्धित विषयलाई तथ्य, खोज तथा अध्ययनमा आधारित सामग्रीका रूपमा सञ्चारमाध्यममा स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले पत्रकारितामाथि पछिल्लो समय विभिन्न किसिमका दबाब र चुनौती बढ्दै गएको धारणा राख्नुभयो। राज्यसत्ताबाटै पत्रकारिता क्षेत्रलाई दबाउन खोजिएको अनुभूति भइरहेको उल्लेख गर्दै उहाँले स्वतन्त्र, निष्पक्ष र निर्भीक पत्रकारिताको संरक्षण आवश्यक रहेको बताउनुभयो।

आदिवासी जनजाति समुदायले लामो समयदेखि राज्य संरचनामा विभेद र उपेक्षा भोग्दै आएको उल्लेख गर्दै श्रेष्ठले यस्ता विषयलाई पत्रकारितामार्फत निरन्तर सार्वजनिक बहसमा ल्याउनुपर्ने बताउनुभयो।

उहाँले फोनिजले आदिवासी जनजाति पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धिसँगै समुदायका आवाजलाई सञ्चारमाध्यममा प्रभावकारी रूपमा स्थापित गर्ने अभियानलाई थप सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा फोनिज बागमती प्रदेशका महासचिव राजु नापितले फोनिजको उद्देश्य तथा पत्रकारितामा आदिवासी जनजाति समुदायको सहभागिताबारे धारणा राख्नुभयो।

त्यस्तै फोनिजका पूर्व इन्चार्ज पेमा लामा, जगत तामाङ, नेपाल पत्रकार महासंघ काभ्रेका सचिव तथा नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी काभ्रेका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रामप्रसाद ढकाल, काभ्रे रेडियो टिभी प्रसारक मञ्चका अध्यक्ष सचित खड्का र सञ्चारिका समूह काभ्रेका अध्यक्ष सुनिता सापकोटालगायतले फोनिजको भूमिका, उद्देश्य तथा आदिवासी जनजातिका मुद्दालाई सञ्चारमाध्यममा प्राथमिकता दिनुपर्ने विषयमा धारणा व्यक्त गर्नुभयो।

वक्ताहरूले आदिवासी जनजातिका भाषा, संस्कृति, परम्परा, कला, इतिहास तथा सामाजिक र आर्थिक सवालको संरक्षण र प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।

बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारिताका नयाँ आयाम विकास भइरहेकाले आदिवासी जनजाति पत्रकारहरूले डिजिटल माध्यमको अधिकतम उपयोग गर्दै समुदायका मुद्दालाई व्यापक बनाउनुपर्नेमा पनि वक्ताहरूले जोड दिएका थिए।

कार्यक्रममा शिशिर लामा, ज्योती श्रेष्ठ, अञ्जली तामाङलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले फोनिजले पत्रकारहरूको पेशागत हकहितसँगै आदिवासी जनजाति समुदायका मुद्दालाई राष्ट्रिय बहसको विषय बनाउन निरन्तर भूमिका खेल्नुपर्ने बताएका थिए।

फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भेषराज दनुवारले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव सनम सुवालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

बनेपाको धनेश्वर ढिँडो दरबारमा सम्पन्न कार्यक्रम स्थापना दिवसको औपचारिक शुभकामना आदानप्रदानमा मात्र सीमित रहेन। कार्यक्रममा आदिवासी जनजातिका मुद्दा, पत्रकारहरूको क्षमता विकास, प्रेस स्वतन्त्रता तथा समावेशी पत्रकारिताका विषयमा छलफल गर्दै आगामी दिनमा थप प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो।

फोनिजले आगामी दिनमा आदिवासी जनजाति पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धिसँगै भाषा, संस्कृति, पहिचान, अधिकार तथा समुदायका विविध सवाललाई सञ्चारमाध्यममार्फत थप प्रभावकारी रूपमा उठाउने अपेक्षा सहभागीहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय