काठमाडौं । यतिबेला छिमेकी मुलुक बंगलादेशमा ४० र भारतमा १ हजार २ सय मेगावाट बिजुली निर्यात हुन्थ्यो। त्यसबापत बंगलादेशबाट मात्रै दैनिक ७६ लाख रुपैयाँ नेपालले पाउँथ्यो। तर, भोटेकोशी बाढीले रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि बंगलादेश निर्यात बन्द भएको छ। उता भारतमा २ सय मेगावाट विद्युत् कम निर्यात भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। जसबाट दैनिक ३ करोड ५३ लाख रुपैयाँ घाटा बेहोर्नु परिरहेको छ।

भोटेकोशी बाढीपछि सञ्चालनमा रहेका र निर्माणाधीन जलविद्युत् आयोजनामा ६७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार सरकारी र निजी क्षेत्रका १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ। ती आयोजनाको कुल जडित क्षमता ६६९ मेगावाट हो।

मन्त्रालयका प्रवक्ता शालिग्राम भण्डारीका अनुसार जलविद्युत् आयोजना र सबस्टेसनमा भएको क्षतिको प्रारम्भिक विवरणका आधारमा ६७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ। वितरण लाइनमा भएको क्षति भने उक्त रकममा समावेश गरिएको छैन। ‘वितरण लाइनबाहेक जलविद्युत् आयोजना र सबस्टेसनमा मात्रै ६७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण आएको छ,’ भण्डारीले भने, ‘क्षतिको विस्तृत विवरण संकलन तथा मूल्यांकनको काम भइरहेको छ।’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले भने २६ अर्ब ७६ करोड मात्र क्षति भएको जनाएको छ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले एक मेगावाट विद्युत् आयोजना बनाउन २० करोडले दरले १ सय ३३ अर्ब ८० करोड रुपैयाँ हुन आउने र त्यसको २० प्रतिशत क्षति हुँदा पनि २६ अर्ब ७६ करोड क्षति भएको डाँगीको अनुमान छ। उनले बिमाको हिसाब गर्दा पनि यति नै क्षति हुन आउने तर्क गरे। ‘हामीले प्रारम्भिक आकलन गरेको हुनाले यसमा घटबढ हुन सक्छ,’ उनले भने।

बाढी तथा पहिरोबाट केही आयोजना पूर्णरूपमा प्रभावित भएका छन् भने केही आयोजनाका प्रमुख संरचनामा क्षति पुगेको मन्त्रालयले जनाएको छ। आयोजनाका बाँध, इन्टेक, पावरहाउस, सुरुङ, पाइपलाइन, पहुँचमार्गलगायत संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण छ। निर्माणाधीन आयोजनामा निर्माण सामग्री तथा निर्माणसँग सम्बन्धित संरचनामा समेत क्षति पुगेको छ। सञ्चालनमा रहेका आयोजनामा संरचना क्षतिग्रस्त हुँदा विद्युत् उत्पादन प्रभावित भएको छ।

मन्त्रालयका अनुसार हाल प्रभावित आयोजनाबाट क्षतिको विवरण संकलन गरी त्यसको प्राविधिक मूल्यांकन गर्ने काम भइरहेको छ। प्रारम्भिक विवरण भएकाले विस्तृत मूल्यांकनपछि क्षतिको रकम थप यकिन हुने मन्त्रालयले जनाएको छ।
त्यसैगरी क्षति भएको आयोजना बन्न अवस्था हेरी ४ देखि ५ वर्षसम्म पनि लाग्न सक्ने देखिएको छ। मन्त्रालयका प्रवक्ता भण्डारीका अनुसार यति नै भन्न सक्ने अवस्था नरहे पनि पावर हाउस र हेड अफिसको मात्र क्षति भएको र सुरुङमा धेरै असर नगरेको हुनाले धेरै वर्ष नलाग्ने उनले बताए। ‘अझै सुरुङमा कस्तो क्षति भएको छ भन्ने अवस्था छैन,’ उनले भने। १२ देखि १५ हजार मेगावाट विद्युत् उत्पादनका लागि पीपीए भइसकेकाले धेरै आत्तिहाल्ने अवस्था नरहेको उनले बताए।

बाढी तथा पहिरोका कारण सञ्चालनमा रहेका र निर्माणाधीन गरी १२ जलविद्युत् आयोजनामा क्षति पुगेको थियो। प्रभावित आयोजनामध्ये ८ सञ्चालनमा रहेका छन् भने ४ निर्माणाधीन हुन्। सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता २८१ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ३८८ मेगावाट रहेको छ। प्रभावित आयोजनाको कुल क्षमता ६६९ मेगावाट छ। मन्त्रालयका अनुसार क्षतिग्रस्त आयोजनामध्ये ११ आयोजनासँग सम्बन्धित ९१९ जना सम्पर्कविहीन छन्। बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीन व्यक्तिको संख्या थपघट हुन सक्ने मन्त्रालयले जनाएको छ।

निर्यातमा समेत असर
बाढी तथा पहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेपछि विद्युत् निर्यातमा समेत असर परेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार भारतलाई सामान्य अवस्थामा करिब १ हजार २ सय मेगावाट विद्युत् निर्यात गरिन्थ्यो। तर, हाल १ हजार मेगावाट जति मात्रै निर्यात भइरहेको छ।

बाढीबाट चिलिमे र देवीघाट जलविद्युत् आयोजनामा क्षति पुगेपछि बंगलादेशतर्फ निर्यात हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात बन्द भएको मन्त्रालयले जनाएको छ। ती आयोजनाबाट विद्युत् आपूर्ति गर्न नसक्ने अवस्था आएपछि अन्य आयोजनाबाट बंगलादेशमा विद्युत् निर्यात गर्ने विषयमा कूटनीतिक पहल भइरहेको मन्त्रालयका प्रवक्ता भण्डारीले बताए। उनका अनुसार बाढीबाट क्षतिग्रस्त आयोजनाबाट उत्पादन हुने विद्युत् घटेपछि हाल आन्तरिक खपत व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने अवस्था आएको छ।

‘क्षतिग्रस्त आयोजनाबाट विद्युत् उत्पादन प्रभावित भएकाले आन्तरिक खपत व्यवस्थापन गर्नुपर्ने भएको छ,’ भण्डारीले भने, ‘त्यसकारण केही समय विद्युत् निर्यातमा समस्या आएको हो।’

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय