नुवाकोट । भदौ १० गते आएको भोटेकोसी बाढीका कारण विस्थापित भएका नुवाकोटको विदुर नगरपालिका–९, कोलानीस्थित स्टार बोर्डिङ क्षेत्रका बाढीपीडित परिवारलाई तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालले राहत सामग्री वितरण गरेको छ।
बाढीबाट प्रभावित परिवारलाई मोर्चाले १०० थान प्रेसर कुकर, १०० थान ताप्केसहित विभिन्न भाँडाकुँडा वितरण गरेको हो। विपद्का कारण घर तथा दैनिक जीवन प्रभावित भएका परिवारलाई खाना पकाउन आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत सामग्री वितरण गरिएको जनाइएको छ।


राहत वितरण कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता सूर्यमान दोङ (लालध्वज) तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रीय अध्यक्ष, युवा नेता एवं समाजसेवी अबिरल जिम्बासहित केन्द्रीय पदाधिकारी, सदस्य तथा सहयोगी टोलीको सहभागिता रहेको थियो।
भोटेकोसी बाढीबाट विस्थापित परिवारलाई विपद्को समयमा सहयोग उपलब्ध गराएको भन्दै तामाङ राष्ट्रिय मुक्तिमोर्चा जिल्ला समन्वय समितिले पूर्वमन्त्री दोङ, अध्यक्ष जिम्बा, केन्द्रीय पदाधिकारी, सदस्य तथा सहयोगी सम्पूर्ण टोलीप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।
समितिले विपद्को समयमा पीडित परिवारको आवश्यकता पहिचान गरी दैनिक जीवन सहज बनाउन गरिएको सहयोग महत्वपूर्ण रहेको जनाएको छ।










