काभ्रे। नमोबुद्ध नगरपालिका भएर बग्दै रोशी खोलामा मिसिने दाप्चाखोला र सोही गाउँपालिकाभित्र रोशी खोलासँगै बिपी राजमार्ग आसपासमा मात्रै दर्जन बढी क्रसर उद्योग र ढुङ्गाखानी सञ्चालनमा छन् । ती उद्योग र ढुङ्गाखानीले खेतीयोग्य जमिनमा लेदोले पुरिनाका साथै रोशी खोला धमिलो भएर दूषित हुँदै आएकोे छ ।
रोशी खोला आसपासमा क्रसर उद्योग र ढुङ्गा खानी सञ्चालन गरिएका कारण बाह्रै महिना धमिलो पानी र लेदो मिसिएको पानी बगेकाले खेती गर्नसमस्या भएको गुनासो गर्दै त्यो खोला कहिले सङ्लो हुन्छ भन्ने प्रश्न पीडित किसानले स्थानीय सरकारसँग गरेका छन् ।


काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा यहाँका नागरिकले मापदण्डअनुसार खानी सञ्चालन गरिएको हो होइन आवश्यक छानविन गरी रोशीका किसानलाई न्याय दिन आग्रह गरेका हुन् ।
मापदण्ड पुगेको भए सञ्चालन गर्न दिन र नपुगेको भए त्यसका बारेमा जनप्रतिनिधिले चित्त बुझ्दो गरी जवाफ दिन वडा नं ७ का विनोदप्रसाद गौतमले आग्रह गरे। सोही ठाउँका अर्का पर्शुराम गौतमले पालिकाबाट योजना सम्झौता गर्ने बेलामा सबै अङ्ग्रेजी माध्यमबाट मात्रै लेख्ने गरेका कारण योजना कार्यान्वयनका बेलामा समस्या आउने गरेको बताए। सहजताका लागि आगामी दिनमा नेपाली माध्यममै लागत अनुमान बनाएर दिनपर्नेमा जोड दिँदै उनले सूचना प्रसार गर्न पालिकाले सञ्चालन गर्ने गरेको फेसबुक पेजमा सबैलाई पहुँच पुग्ने गरी जोड्न र त्यसका लागि सहजीकरण गर्न पनि आग्रह गरे ।
यस्तै, वडा नं८ का राजेश शाहले मल अभाव भइरहेका बेलामा किसानले लाग्ने वास्तविक मूल्य तिरेर मल किन्न नपाउने तर बढी मूल्य तिरेर मल किन्न पाउने अवस्था सिर्जना भएको भन्दै स्थानीय सरकारले कसरी व्यवस्थापन गर्न सक्छ भने । सोही वडाका रकमराज तामाङले शिक्षा निःशुल्क भने पनि सामुदायिक विद्यालयमा शिक्षक अभावका कारण देखाउँदै बालबालिकाबाट विभिन्न नाममा शुल्क उठाएर अभिभावकलाई भार थुपार्ने काम गरेको भन्दै बरु शिक्षक दरबन्दी थप गर्न आग्रह गरे।
नागरिकका जिज्ञासाको जवाफ दिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले संविधानको व्यवस्थाबमोजिम कुनै पनि शिक्षण संस्थाले शुल्क नलिएको र लिन छुट नदिएको बताए। पालिकाको बजेटमध्ये करिब रु दुई करोडभन्दा बढी शिक्षा क्षेत्रमै खर्च गरेकाले विद्यार्थीबाट पैसा असुल्ने कुरा अव्यवहारिक भएको उनको भनाइ थियो।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत तामाङले लागत अनुमान तयारी भइसकेपछि एकपटक नेपालीमा बुझाइ दिन प्राविधिकलाई आग्रह गर्दै आइएको छ बताए ।
राम्रोसँग नबुझ्दा लागत अनुमान एकातिर र काम अर्कोतिर हुने भएकाले बिल भर्पाई दाँजेर हेर्नुपर्नेमा जोड दिँदै र अन्तिम मूल्याङ्कन फरक पर्न जाने अवस्थाले उपभोक्ता समितिलाई समस्या पर्न जाने भएकाले तालमेल मिलाउन कम्तीमा अनुमानित लागत तयार भइसकेपछि नेपालीमा कामको सबै विवरण टिपाइदिन आग्रह गर्दै आएकामा आगामी दिनमा त्यसलाई अझ सुधार गर्दै जाने उनले बताउए ।
उद्योग कलकारखाना बन्द नै गर्नुपर्छ र निरुत्साहित गर्नुपर्छ भन्ने मान्यता आफ्नो नरहेको र त्यहीबाट रोजगारी सिर्जनासमेत हुने भएकाले वातावरण प्रदूषणलाई कसरी कम गर्ने भन्नेमा अगाडि बढ्ने उनको भनाइए छ। मल उपलब्ध गराउनका लागि कृषि सामग्री कम्पनी र साल्टट्रेडिङ लिमिटेडमा निरन्तर सम्पर्क भइरहेकाले उपलब्ध हुनासाथ वितरण गर्न कुरा भइरहेको र राजमार्ग भएर अवैधरुपमा भित्रिरहेको मल नियमन गरिने प्रमुख प्रशासकीय अधिकृत तामाङले जानकारी गराए।










