काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण अपेक्षानुसार सफल भएको बताएका छन् । तीन दिने भारत भ्रमण गरेर नेपाल फर्किएपछि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पहिला प्रधानमन्त्री भएर जाँदा र अहिले जाँदा सुरक्षामा कुनै फरक नरहेको बताए ।
उनले भारतका सरकारी पदाधिकारी र भारतीय जनता पार्टीका विभिन्न पदाधिकारीहरुसँग भेट भएको बताए । उनले भारतका विदेशमन्त्री एस जयशंकर, भारतका विदेश सचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डा लगायतका पदाधिकारीसँग भेट गरेको जानकारी दिए ।


उनले भने,‘सरकारी र पार्टीका पदाधिकारीसँग भेट भयो । अपेक्षानुसार भ्रमण सफल भएको छ । कतिपय सन्दर्भमा सोचेभन्दा राम्रो भ्रमण भएको छ । न्यानो स्वागत भयो । नेपालीहरुमा पनि धेरै चासो र उत्सुकता देखियो । पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा अहिले फरक लागेन । त्यस्तै सुरक्षा दिनुभयो । भेटमा नेपाल र भारतका वर्तमान समस्या, सीमा विवाद, डुबानका बारेमा पनि छलफल भयो ।’
उनले अहिलेको प्रमुख समस्या पेट्रोलको रहेकोले भारतमा रुसबाट आउने कच्चा तेल नेपाललाई सहुलयितमा दिने बारेमा पनि चर्चा भएको बताए । उनले भारत भ्रमणपछि अब नेपाललाई विभिन्न खाले सहयोग र अहिलेका समस्या समाधान हुने कुरामा विश्वस्त रहेको बताए ।
भाजपा अध्यक्ष नड्डाले नेपालको माओवादी र भाजपाबीच अब संयुक्त बैठक डाक्ने, भेटघाट गर्ने र पार्टीका बारेमा छलफल गरी सम्बन्ध बिस्तार गर्ने बारेमा प्रस्ताव राखेको र आफूले उक्त प्रस्ताव स्वीकारेको बताए ।










