महाभारत/काभ्रे । वर्षे झरी भएपछि स्ट्रेचर र डोकोकै भरमा काभ्रे महाभारत गाउँपालिकाका अधिकांश बिरामीको ज्यान उद्धार हुने गरेको छ ।
वडापालिकासम्म अस्थायी सडकको पहुँच पुगे पनि बर्खा लागेपछि यातायातका साधन सञ्चालन हुदैन त्यसैले सडकका कारण स्ट्रेचरकै भरमा बिरामीको उद्धार हुँदै आएको हो । यस गाउँपालिकामा हालसम्म पनि एम्बुलेन्स सेवा छैन । एम्बुलेन्स नभए पछि सर्वसाधारण स्ट्रेचरकै भरमा घण्ट हिँडेर बिरामीलाई स्वास्थ्य चौकी पुर्याउन बाध्य छन् ।


व्यक्तिगत स्वार्थका साथै भूगोलको अध्ययनबिना निर्माण गरिएका सडकले मानवलाई सहजताभन्दा पीडा बढी दिएको सर्वसाधारण बताउँछन् । वातावरण प्रभाव मुल्याकंन नगरि खनिएको सडकले भूक्षय र बाढी पहिरोका कारण दर्जनौँ बस्ती जोखिममा पर्नुका साथै बिरामी बोक्ने बाटोसमेत वर्षायाममा भत्किएको छ ।
बनेपा, धुलिखेलबाट महाभारत गाउँपालिका जाने सडकमा हिउँदयाममा मात्र सञ्चालन हुने गर्दछ । बर्षे झरी सुरु भएपछि पक्की सडक र खोलानालामा पक्की पुल नभएकोले यातायातका साधन चल्न मुस्किल छ । हाल पक्की सडक र पुल निर्माणाधीन अवस्थामा रहेको छ।
गाउँभरि सडक खनिएको छ तर बर्खायाममा यातायातका साधन चल्दैनन् । ‘थोरै सडक निर्माण गर तर १२ महिना यातायातका साधन सञ्चालन हुने निर्माण गर’ भन्ने आम नागरिकको माग कहिले पनि लागू नभएको एक स्थानीय बताए । भरपर्दो सडक नभए पछि महाभारत गाउँपालिकाबाट अधिकांश बिरामीको उपचार गर्नका लागि स्ट्रेचरर डोकोको प्रयोग गरिँदै आएको छ ।
महाभारत गाउँपालिकामा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाईबाट उद्धार हुने गरेको छ, भने अन्य बिरामीको लागि अहिले पनि समस्या रहेको छ ।










